• १६ चैत २०८०, शुक्रबार

पशु आहाराको मूल्य बढ्ने चिन्ता

blog

काठमाडौँ, फागुन २४ गते । सरकारले दूधको मूल्य बढाएपछि केही राहत महसुस गरेका नेपाली कृषक पशुलाई खुवाउने आहाराको मूल्य वृद्धि हुने त्रासमा छन् । 

केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष कृष्णप्रसाद सापकोटा विगतदेखि नै दूधको मूल्य बढेपछि पशु आहारा र औषधिको मूल्य बढाउने प्रवृत्तिले चिन्तामा परेको बताउनुभयो । 

विगतमा दूधको मूल्य बढेपछि स्वतः कृषि उपजका मूल्य बढ्ने कारण किसानले अझै पनि थाहा पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । 

अझै पनि ८५ प्रतिशत किसानले निर्वाहमुखी पशुपालन गरिहेकाले त्यसलाई व्यावसायिक बनाए मात्रै दूधमा बाह्रै महिना नै आत्मनिर्भर बन्न सक्ने उहाँले दाबी गर्नुभयो । 

कृषक अगुवा नारायण बडालले एक वर्षमा पशुलाई खुवाउने आहारको मूल्यमा शतप्रतिशत वृद्धि भएकाले पछिल्लो मूल्य वृद्धिले लागत मूल्य मात्रै उठ्ने अवस्था आएको बताउनुभयो । बजारमा चामलभन्दा ढुटो र गहुँको आँटाभन्दा चोकरको मूल्य धेरै बनाउँदा कृषकले लागत मूल्यसमेत उठाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो । 

व्यावसायिक रूपमा पशुपालन गरिरहनुभएका प्रकाश तिमल्सिनाले दूधको मूल्यमा भएको वृद्धिले किसानलाई प्रोत्साहन गर्न नसकेको बताउनुभयो । उहाँले पशुपालनमा आवश्यक पर्ने कृषि सामग्रीको मूल्यले आकाश छोएको र अझै पनि कृषकले लागत मूल्य उठाउन नसकेको बताउनुभयो । 

उपभोक्ताले सहज रूपमा दूध उपभोग गर्न पनि मकै, ढुटो, पिना, चोकर र भुसमा अनुदान दिएर सस्तोमा उत्पादन गर्ने स्थिति आएपछि मात्रै नेपाली किसान खुसी हुने उहाँको भनाइ छ । कृषि र पशुपालनमा प्रभावकारी अनुदान दिएर दूध उत्पादनलाई सस्तो बनाउन सके मात्रै उपभोक्ता र उत्पादकबीचको समझादारी कायम हुने उहाँको विश्वास छ । 

पशुसेवा विभागका महानिर्देशक डा. सम्झनाकुमारी काफ्लेले नेपाल दूधमा आत्मनिर्भर रहेको बताउँदै कोभिडले केही असर पारेको दूध क्षेत्र पुरानो लयमा फर्किएको बताउनुभयो । उहाँले आमउपभोक्ताले सहजै दूध तथा दुग्ध उत्पादन पाइरहेकाले अभावको अवस्था नरहेको बताउनुभयो । घाँसमा आधारित पशुपालन नै अहिलेको आवश्यकता भएकाले सरकारले लागत मूल्य नै बढेकाले दूधको मूल्य बढाएको उहाँले बताउनुभयो । 

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले नेपालमा ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा ३१ लाख लिटर बजारमा आउने बताउनुभयो । सहरको छ करोड पैसा दैनिक गाउँसम्म जाने भएकाले यसले ग्रामीण जीवनस्तर उकास्न सहयोग गरिरहेको उहाँको भनाइ छ । 

पछिल्लो मूल्य वृद्धिले उद्योगीको मागलाई भने सम्बोधन गर्न नसकेको उहाँले बताउनुभयो । यसअघि हुने मूल्य वृद्धिमा ७० प्रतिशत किसान र ३० प्रतिशत उद्योगीलाई हुने भए पनि पछिल्लो निर्णयले उद्योगीलाई नछोएको उहाँको गुनासो छ । 

आत्मनिर्भर हुने अवस्थामा रहेको नेपालको दूध उत्पादनको क्षेत्र कोभिडको समयमा आहाराको कमीले आयात गर्ने अवस्था आउनु दुःखद रहेको दाहालको भनाइ छ ।