• ८ वैशाख २०८१, शनिबार

छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण शिविर

blog

कुकुरको शल्यक्रिया गर्दै पशु चिकित्सक । तस्बिर : नवीन शिशिर विक

नवीन शिशिर विक

बागलुङ, फागुन १९ गते । छाडा कुकुरको सङ्ख्या नियन्त्रण गर्न बागलुङका दुई तहमा निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । केन्द्रीय रिफरल अस्पताल काठमाडौंको आयोजना तथा स्थानीय तह कृषि तथा पशु शाखा र भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बागलुङको स्थानीय व्यवस्थापनमा जैमिनी नगरपालिका र बागलुङ नगरपालिकामा शिविर सञ्चालन गरिएको हो । 

भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रणसँगै रेविज रोग नियन्त्रण गर्ने लक्ष्यका साथ बन्ध्याकरण शिविर सञ्चालन गरिएको पशुविज्ञ केन्द्र बागलुङका वरिष्ठ पशु चिकित्सक तथा सूचना अधिकारी केशव पौडेलले जानकारी दिनुभयो । 

शिविरमा घरपालुवा तथा छाडा दुवै कुकुरको बन्ध्याकरण गरिएको छ । घरपालुवा कुकुर घरमालिकले शिविरसम्म ल्याएका थिए । छाडा कुकुर स्थानीय तह पशु शाखामा कार्यरत जनशक्तिको सहयोगमा बजार क्षेत्रका सडक तथा चोक चोकबाट छोपेर पशु एम्बुलेन्समा सङ्कलन गरी ल्याइएको थियो । 

जैमिनी नगरपालिकामा ४७ घरपालुवा र २६ छाडा कुकुरको बन्ध्याकरण गरिएको थियो । बागलुङ नगरपालिकामा घरपालुवा तथा छाडा गरी ५१ वटा कुकुरको स्थायी बन्ध्याकरण गरिएको सूचना अधिकारी पौडेलको भनाइ छ । 

शिविर सञ्चालनका लागि केन्द्रीय रिफरल अस्पताल काठमाडौंबाट आठ जना पशु चिकित्सक आउनुभएको छ । बन्ध्याकरणका लागि ल्याइएका सबै कुकुरलाई रेबिज विरुद्धको खोप पनि उपलब्ध गराएको उहाँले बताउनुभयो । 

स्न २०३० सम्ममा रेबिज रोग अन्त्य गर्ने लक्ष्यअनुसार बन्ध्याकरण तथा खोप अभियान सञ्चालन भइरहेको छ । गत वर्ष पनि बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा शिविर सञ्चालन गरिएको थियो । छाडा छोडिएका सामुदायिक कुकुरले स्थानीयलाई दुःख दिन थालेपछि शिविर सञ्चालन गरिएको पौडेलले बताउनुभयो ।