• १३ वैशाख २०८१, बिहिबार

बजेट व्यवस्था भए अनलाइन वर्गीकरण गर्नेछौं : अध्यक्ष बस्नेत

blog

नेपाल पत्रकार महासङ्घ चितवनले धुलिखेलमा आयोजना गरेको पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम । तस्बिरः केदार तिमल्सिना

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, फागुन १९ गते । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले बजेटको ब्यवस्थापन गरेमा अनलाइन सञ्चारमाध्यमको वर्गीकरण गर्न काउन्सिल तयार रहेको बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ चितवनले बिहीबार धुलिखेलमा आयोजना गरेको पत्रकार आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले सरकारले बजेट प्रदान गरेमा अनलाइन सञ्चारमाध्यमको वर्गीकरण गरिने बताउनुभयो । 

“अनलाइन सञ्चार माध्यमको वर्गीकरणका लागि काउन्सिल मापदण्ड तयार गर्दैछ, सरकारले बजेट व्यवस्था गरेमा हामी मापदण्ड जारी गरेर वर्गीकरण गर्न तयार छौँ” उहाँले भन्नुभयो । 

काउन्सिलले पत्रपत्रिकाको वर्गीकरणलाई सहज हुनेगरी काम गर्दैआएको बताउनुभयो । उहाँले सरकारले लोककल्याणकारी विज्ञापनमा कटौती गर्दैआएको तीन प्रतिशत रकम कटौती गर्ने प्रावधानलाई सुधार गर्न सरकारलाई सुझाव दिएको बताउनुभयो । उहाँले विगतदेखि हालसम्म प्रेसमा प्रयोग भएका उपकरण लगायतको सामग्री सङ्ग्रह गर्ने उद्देश्यले प्रेस सङ्ग्रहालय निर्माणका लागि विस्तृत परियोजना रिपोर्ट (डीपीआर) निर्माण गर्ने कामको सुरुवात गरेको बताउनुभयो । 

राज्यले कुनै पनि कानुन तथा ऐन निर्माण गर्नेक्रममा सञ्चारमाध्यम सञ्चारकर्मीलाई दुःख दिने कानुन निर्माण गरेमा त्यस्तो कानुन र ऐन काउन्सिललाई मान्य नहुने बताउनुभयो । अध्यक्ष बस्नेतले सञ्चारमाध्यम र सञ्चारकर्मी प्रविधिमैत्रीका साथै समसामयिक विषयमा केन्द्रित हुन जरुरी रहेको बताउनुभयो । अनलाइन सञ्चरमाध्यमलाई लोककल्याणकारी विज्ञापन दिन सरकारलाई सुझाव दिएको उल्लेख गर्नुभयो ।  

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सञ्चारमाध्यम र सञ्चारकर्मीले पत्रकार आचारसंहिताको पालना नगरे उनीहरु माथिको विश्वसनियता घट्नुको साथै समाजले अपेक्षा पूरा नहुने बताउनुभयो । पछिल्लो समय बढ्दो प्रविधिको विकासले पत्रकाररितामा चुनौतीको चाङ थपिएको बताउँदै यूटुयुबजस्ता सञ्चार माध्यमलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरामा सरकारको ध्यान जानु जरुरी रहेको बताउनुभयो । 

उहाँले सञ्चारकर्मी र सञ्चारमाध्यमले आफ्नो समाचारको विषयवस्तु र लेखनशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । सञ्चार नीति निर्माणमा सरकार चुकेको बताउँदै सञ्चारमाध्यमलाई दिगो बनाउन सरकारसँग योजना नरहेको आरोप लगाउनुभयो । उहाँले सूचना विभागबाट जारी गर्दैआएको परिचयपत्रलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो ।  पत्रकार शुद्धीकरणका लागि कामहरु सुरु भएको उहाँले बताउनुभयो । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारिताको गुणस्तरमा आचारसंहिताको पालनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । आचारसंहिताको पालनाले पत्रकारिताको विश्वसनीयता र गुणस्तर झल्काउने पनि उहाँको भनाइ छ । आचारसंहिता पालनाका लागि सञ्चारमाध्यम र सञ्चारकर्मी गम्भीर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका अध्यक्ष बद्रिराज तिमल्सिनाले आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रमले सञ्चारकर्मीलाई आचारसंहिता पालनाको विषयमा पुनर्ताजगी प्रदान गरेको बताउनुभयो । 

पत्रकार महासङ्घ चितवनका सचिव दीपेन्द्र अधिकारीले चितवनका सञ्चारकर्मीलाई अध्ययन अवलोकन भ्रमणको कार्यक्रम राखिएको बताउनुभयो । उहाँले अध्ययन भ्रमणको क्रममा धुलिखेलमा आचारसंहिताको विषयमा अन्तरक्रिया कार्यक्रम राखिएको बताउनुभयो ।