• ४ वैशाख २०८१, मङ्गलबार

भरतपुरमा निर्माणको चटारो

blog

भरतपुरमा निर्माणाधीन पूर्वाधार । तस्बिर : रासस

चितवन, फागुन १९ गते । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् ।

सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौंका काम भइरहेका छन् ।

महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि सुरु भएका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन् ।

सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत रू. ८८ करोड ठेक्कामध्येको महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिनुभयो । “दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने छ किलोमिटर निर्माण भइरहेको छ”, उहाँले भन्नुभयो ।

सोही आयोजनाअन्तर्गत रू. २५ करोड लागतमा निर्माण सुरु गरिएको रानीपोखरी र लक्ष्मीनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ । साथै पाँच किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ ।

यस्तै, देवघाटमा रू. १० करोड लागतमा निर्माण सुरु गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ । महानगरमा बनाउन सुरु गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ ।  यसका लागि रू. ८८ करोड विनियोजन गरिएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजनाले रू. ४१ करोड लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ । सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ । सोही क्षेत्रमा रू. छ करोड लागतमा सडक निर्माण थालिएको छ । वडा नं १४ मा रू. दुई करोडमा कालिका पार्क निर्माण भइरहेको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि सुरु भएको छ । नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ । आयोजना प्रमुख गणेश मरासिनीका अनुसार रू. दुई अर्ब ४३ करोड विनियोजन गरिएको छ । नदीलाई पाँच भागमा विभाजन गरेर काम भइरहेको छ ।

“नारायणी बिच रू. १५ करोड ९२ लाखमा ठेक्का दिएर काम थालिएको छ भने अर्को ठूलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म रू. एक अर्ब १५ करोडमा  तटबन्धको काम थालिएको छ । अन्य तीन खण्डको काम सुरु गर्ने तयारी भइरहेको छ”, प्रमुख मरासिनीले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म छ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । रू एक अर्ब २३ करोड लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो । यस्तै आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण, ठूला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।

त्यस्तै, हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका रू. पाँच अर्ब हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणका चरणमा छन् । महानगर, एसियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनाका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेका छन् ।

महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्र भएको महानगरका इञ्जिनियर साकार लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा  कालोपत्र गर्ने काम भइरहेका छन् । महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ । रू. ५३ करोडमा भवन निर्माणको काम सुरु गरिएको हो । नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र सङ्घीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ । नयाँ काम पनि सुरु भएका छन् ।”

पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना सहर बन्ने नगरप्रमुख दाहालले बताउनुभयो । उहाँले महानगरलाई दक्षिण एसियाकै नमुना सहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताउनुभयो । प्रमुख दाहालले भन्नुभयो, “भरतपुर महानगर आगामी पाँच वर्षभित्र एसियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना सहर बन्छ भन्ने मेरो दृढ विश्वास छ ।”

भरतपुर विमानस्थल विस्तार र क्रिकेट रङ्गशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीय स्तरमा सार्थक पहल गरिरहेको उहाँको भनाइ छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उहाँले जानकारी दिनुभयो । रू. दुई अर्बको लागतमा बन्ने पुलको प्राविधिक मूल्याङ्कन सम्पन्न भएर वित्तीय मूल्याङ्कन भइरहेको छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको बताउनुभयो । “तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ”, उहाँले भन्नुभयो । महानगरलाई नमुना सहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उहाँको भनाइ थियो । रासस