• १६ चैत २०८०, शुक्रबार

लोकसेवा आयोगको तेस्रो सम्मेलन धनगढीमा सुरु

blog

उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १९ गते । लोकसेवा आयोगको तेस्रो सम्मेलन आजबाट धनगढीमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनको लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले उद्घाटन गर्नुभयो । 

सो क्रममा उहाँले अधिकार, कर्तव्य, जिम्मेवारी र सीमितता बुझ्दै समन्वय गरेर अगाडि बढ्न प्रदेश लोकसेवा आयोगलाई आग्रह गर्नुभयो । विधि, पद्धतिलाई साटासाट गर्दै प्रदेश लोकसेवा आयोगलाई बलियो बनाउने लोकसेवा आयोग केन्द्रीय कार्यालयको उद्देश्य रहेको उहाँको भनाइ छ । 

उद्घाटन सत्रमा सुदूरपश्चिम प्रदेशका मुख्यसचिव नारायणप्रसाद शर्मा दुवाडी, सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगका अध्यक्ष यज्ञराज बोहरा, कर्णाली प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले शुभकामना मन्तव्य दिनुभयाे । 

यसैगरी, लुम्बिनी प्रदेश लोकसेवा आयोगका अध्यक्ष तिलाराम ओझा, गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल, बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठ, कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र मधेश प्रदेश लोकसेवा आयोगका सदस्य डा. सुजाता देवले शुभकामना मन्तव्य राख्नुभएको थियो । 

सम्मेलनमा सातवटै प्रदेश लोकसेवा आयोगका पदाधिकारीसहित कर्मचारीको सहभागिता थियो । धनगढी घोषणापत्र जारी गर्दै शनिबार सम्मेलन सम्पन्न हुने जनाइएको छ ।