• ८ वैशाख २०८१, शनिबार

थोलेदेम्बा म्याराथनको उपाधि सुमन र सानुमायाले जिते

blog

काठमाडौँ, फागुन १९ गते । थोलेदेम्बा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुषतर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिलातर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेका छन् । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो । 

पर्यटकीय क्षेत्र पिके डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुने म्याराथनमा केन्या र इङल्याण्डका खेलाडीले समेत दौडमा सहभागिता जनाएको थियो । 

प्रतियोगितामा पुरुष तर्फ भोजपुरका तीर्थ तामाङ द्वितीय हुनुभएको थियो भने सोलुखुम्बुकै अर्जुन कुलुङ तृतीय हुनुभएको थियो । यता महिलातर्फ भने जुम्लाकै मञ्जु रावत द्वितीय र खोटाङकी प्रिया राई तृतीय हुनुभएको थियो । 

प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यले स्थानीय विजेताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको थियो उक्त प्रतियोगितामा पुरुषतर्फ त्रृति राई प्रथम, रवीन्द्र तामाङ द्वितीय र देवराज तामाङ तृतीय हुनुभएको थियो भने महिलातर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल द्वितीय र अनिता सुनुवार तृतीय हुनुभएको थियो । 

ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा खिजीदेम्बा गाउँपालिका ओखलढुङ्गा र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो । पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्दै आएको स्थानीय एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो । अल्ट्रा रेस पाँच हजार मिटरको उचाइसम्म थियो । विजेता खेलाडीहरूलाई ७० हजार, ५५ हजार र ४५ हजार नगदसहित मोडेल, प्रमाणपत्रले सम्मानित गरिएको शेर्पाले जानकारी दिनुभयो ।