• १६ चैत २०८०, शुक्रबार

जानकी आँखा अस्पतालमा उपचार गराउने बिरामीको सङ्ख्या बढ्यो

blog

बिरामीलाई आँखाको चेकजाँच गर्दै डा.आशिष बोहरा । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, फागुन १९ गते । नेपाल रेडक्रसद्वारा सञ्चालित जनकपुरधामको जानकी आँखा अस्पतालमा आँखाको गुणस्तरीय उपचार सेवा दिन थालेपछि बिरामीको सङ्ख्या बढ्दै गएको छ । अस्पतालमा दिनको तीन सयदेखि पाँच सयसम्म आँखाका विभिन्न रोगका बिरामी उपचारका लागि यहाँ आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । 

सो अस्पतालमा आँखाको समान्य उपचारदेखि शल्यक्रिया गर्नेसम्मको काम गुणस्तरीय देखिएपछि मधेश प्रदेशको धनुषा, महोत्तरी, सर्लाही, रौतहटसहितका जिल्ला र भारतको मधुवनी र सीतामडी जिल्लाबाट सयौंको सङ्ख्यामा आखाँका रोगीहरु यहाँ आउन थालेको जानकी आँखा अस्पताल विकास समितिका अध्यक्ष नरेश सिंहले जानकारी दिनुभयो । 

उहाँले मधेशका जिल्लाको ग्रामीण भेगमा अस्पातलले विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा शिविरहरु सञ्चालन गरी आँखाका जटिल बिरामीहरु पता लगाएर अस्पतालमा ल्याई निःशुल्क रुपमा शल्यक्रिया गराई निको पार्ने काम गर्नेगरेको जानकारी गराउनुभयो । 

जानकी आँखा अस्पतालमा प्रत्येक दिन एक सयभन्दा बढी मोतीबिन्दुका बिरामीलाई शल्यक्रिया गरी आँखा निको पार्ने काम गर्दैआएको अस्पतालका प्रमुख एवम रेटिना तथा फेकोसर्जन डा. आशिष बोहराले जानकारी दिनुभयो । अस्पतालमा विनासुईको (टोपिकल फेको) शल्यक्रिया गराउने आँखाका बिरामीले शल्यक्रिया गरेको एक घण्टामै संसारलाई हेर्ने गरेको बताउनुभयो । 

प्रत्येक वर्ष १२ हजारभन्दा बढी मोतीबिन्दुका बिरामीले यस अस्पतालमा शल्यक्रिया गराई लाभ लिएको जानकारी गराउनुभयो । अस्पतालका प्रमुख डा. बोहराका अनुसार सात वर्षमा आफूले एकलै २५ हजारभन्दा बढी मोतीबिन्दुका बिरामीलाई शल्यक्रिया गरी निको पारेको बताउनुभयो । प्रतिदिन एक सयभन्दा बढी मोतीबिन्दुको शल्यक्रिया गर्दा पनि आफूलाई कुनै किसिमको थकान नहुने र शल्यक्रियापश्चात् बिरामीले देख्दा बिरामीभन्दा बढी आफूलाई खुशी लाग्नेगरेको उहाँको भनाइ छ । 

डा. सन्दुक रुइतको प्रेरणाले आफू यस क्षेत्रमा आएको बताउँदै आँखाको समान्य उपचार गराएका बिरामीलाई औषधिको पैसा तिर्न नसक्ने अवस्था देखिएपछि अस्पतालबाटै औषधि दिने गरिएको उहाँले जानकारी दिनुभयो । मधुमेह रोग लागेका बिरामीमा अन्धोपना बढी देखिएको भन्दै डा. बोहराले  मधुमेह रोग लागेका व्यक्तिले प्रत्येक छ महिनामा आँखाको जाँच गराउनुपर्ने सुझाव दिनुभयो ।