• १५ चैत २०८०, बिहिबार

नारायणगढ–बुटवल सडक चार वर्षमा २५ प्रतिशत काम

blog

विष्णु पाण्डेय

काठमाडौँ, फागुन १९ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । निर्माण सुरु भएको चार वर्ष बितेको छ । तर प्रगति भने सन्तोषजनक छैन । यो सडकको भौतिक प्रगति हालसम्म २५ प्रतिशत मात्र छ । 

जिम्मेवार निकायले अनुगमन गर्न नसक्दा र कार्यान्वयनमा चासो नदेखाउँदा सडक विस्तारको कामले गति लिन सकेको छैन । सडक विभागले यसअघि तोकिएको समय सीमाभित्र निर्माणको काम नसकिए ठेक्का तोड्ने भन्दै सूचना नै प्रकाशित गरेको थियो । तर सडक विभागले लचिलो बन्दै काम अघि बढाउन सकेको छैन । छ महिनामा प्रगति विवरण हेरेर ठेक्का रद्द गर्ने या नगर्ने भन्ने निर्णयमा पुग्ने बताउँदै सूचना जारी गरेको थियो तर काम अघि नबढ्दा थप निर्णय लिन सडक विभागले आनाकानी गरेको स्थानीयको आरोप छ । 

सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापाका अनुसार कम्पनीले अझै सोचे अनुरुपको काम गर्न सकेको छैन । आफूहरूले पटक पटक निर्माण कम्पनीलाई काम गर्ने मौका प्रदान गरे पनि कम्पनीले काममा बेवास्ता गर्दै आएकाले आम नागरिकले हैरानी खेप्नुपरेको जस्ता तर्क दिनुहुँदै उहाँले कारबाहीको प्रक्रिया अघि बढाउने बारेमा केही बताउनुभएन । 

निर्माण कम्पनीले असारसम्म ५० प्रतिशत मात्र काम सक्ने बताएपनि काम ज्यादै सुस्त गतिमा अघि बढ्दै 

उहाँले भन्नुभयो, “काम सन्तोषजनक नभएकाले पहिले नै ठेक्का तोड्ने योजनामै थियौँ । तर पछि कम्पनीले काम गर्छौ भनेर आश्वासन दिएपछि पुनः छ महिना हेरौँ भनेर समय दियौँ । तर अझै पनि काम सन्तोषजनक रहेको छैन ।” नारायणगढ देखि बुटवलसम्म दुई घण्टामै पुगिने बाटो भए पनि बाटोको नाजुक अवस्थाका कारण चार देखि छ घण्टा लाग्ने गरेको छ । उहाँका अनुसार थपिएको अन्तिम समय सीमा आगामी असारमा सकिँदै छ । तर कामको प्रगति भने सुस्त छ ।

निर्माण कम्पनीले असारसम्म ५० प्रतिशत मात्र काम सक्ने बताएको जानकारी दिनुभयो । थापाले भन्नुभयो, “काम ज्यादै सुस्त गतिमा अघि बढेको छ । निर्माण कम्पनीले थपिएको अन्तिमसम्म ५० प्रतिशत मात्र काम सक्ने जानकारी गराएको छ । पुन: म्याद थप्ने कि नथप्ने भन्ने पुनर्विचार गर्छौ ।”  

उहाँका अनुसार ११३ किलोमिटर लामो सडक विस्तार गरी चार लेनको बनाउने गरी २०७५ पुसमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ एसोसिएसन र सडक विभागबीच सम्झौता भएको थियो । यस सडकलाई दुई खण्डमा विभाजन गरेर सो कम्पनीलाई नै जिम्मा दिइएको थियो ।

निर्माण कम्पनीले आर्थिक गतिविधि पारदर्शी नगरी श्रमिकहरूलाई समयमा भुक्तानी नगरेको, निर्माण कम्पनीले अनेक समस्या देखाएर काम ढिलासुस्ती गर्दै आएको छ ।

तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल सडक खण्डलाई गैँडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । गैँडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने—बुटवल ४८ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्टाएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ। दुबैतर्फ कामको सुस्तता उस्तै छ ।

आयोजनाले एक खण्डको काममा धेरै प्रगति गरेर अर्कोतर्फको गति कम गर्ने सोचमा लागेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “निर्माण कम्पनीले एक खण्डमा काम कम गरी अर्को खण्डको गति कम गर्ने योजना बनाएको छ । एक तर्फको कामको गति बढी हुँदा काम देखिन गरी उसले रणनीति बनाएर काम गरेको देखिएको छ ।” उक्त सडक खण्डमा रुख काट्ने तथा विद्युतका पोलहरू सार्ने काम लगभग सकिएकाले काम गर्न कम्पनीलाई कुनै अवरोध नभएको उहाँको भनाइ छ ।  

निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्ने श्रमिकहरूलाई समयमा भुक्तानी नगरेको गुनासो आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीको आर्थिक गतिविधि त्यति पारदर्शी भएको देखिएको छैन ।  काम गर्ने कामदारलाई समयमा भुक्तानी पनि नगर्ने गरेको गुनासो आउने गरेको छ ।” उक्त सडक खण्डको दाउन्नेको १३ किलोमिटर सडक फराकिलो पार्न  भने कम्पनीले नसक्ने थापा बताउनुहुन्छ ।

अहिले सडकका खाल्डाखुल्डी पुर्ने काम भएको र यो सकिएपछि सडक ग्राभेल गरेर कालोपत्रे  गर्न सुरु गरिने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, अहिले सडकका खाल्डाखुल्डी पुर्ने मात्र काम भएको छ । यो कम लागतको काम छ । यो सकिएपछि सडक ग्राभेल गरेर कालोपत्रेको काम सुरु हुनेछ । निर्माण कम्पनीले अनेक समस्या देखाएर काम ढिलासुस्ती गर्ने गरेको पाइएको पनि उहाँले बताउनुभयो ।