• १३ वैशाख २०८१, बिहिबार

ढुङ्गा बन्दैछ मानिस (कविता)

blog

ढुङ्गाको पूजा गर्दागर्दै 

मानिस आफैँ ढुङ्गा भइरहेछ

फरक यत्ति हो, ढुङ्गा बोल्दैन

मानिस बोल्छ, अति बोल्छ, जे पनि बोल्छ ।


मानिस ढुङ्गा जस्तै कठोर हुँदैछ

मानिस ढुङ्गा जस्तै गह्रौँ बन्दैछ 

एउटा ढुङ्गा बन्न शदियौँ लाग्छ

तर मानिस दुईचार वर्षमै 

मानिसबाट ढुङ्गामा परिणत भइदिन्छ । 


मानिसलाई कहिले पदले ढुङ्गा बनाइदिन्छ

उसलाई कहिले पैसाले ढुङ्गा बनाइदिन्छ

ऊ कहिले सबथोक गुमाएर ढुङ्गा बन्न पुग्छ

कहिले ऊ धेरैथोक कब्जा गरेर ढुङ्गा बनिदिन्छ ।


कहिले मानिसले प्रेमको नाममा ढुङ्गाको रूप लिन्छ

मानिस कहिले घृणाको चरममा पुगेर ढुङ्गा भइदिन्छ

आखिर जसरी पनि मानिस ढुङ्गा बन्नमै व्यस्त रहेको छ । 


वनस्थली, काठमाडौं