• १३ वैशाख २०८१, बिहिबार

हराउँदै जोगिरा औपचारिकतामा सीमित

blog

महेशकुमार दास 

जलेश्वर, फागुन १९ गते । ‘कए हाथके धोती पहिरै, कए हाथ लपेटा, कए धारके पानी पिया, कए बापके बेटा, जोगिरा सररर ... जोगिरा सररर’ । ‘हे डम्फाके चोट महल बिच पहुचए, सुतलि गोरिया चहकि उठय एहि फागुनमे... ., परदेशियाके चिट्ठीया लिखैए गोरिया एहि फागुनमे... ’ । ‘जोगिरा सर..र...र कौन तालपर ढोलक बाजे कौन ताल मृदंङ ... कौन तालपर गोरिया नाचे कौन तालपर हम जोगिरा सररररररर।’ 

पहिले ग्रामीण क्षेत्रहरूमा मैथिली भाषामा गाइने लयबद्ध यी गीत अर्थात् ‘जोगिरा’ टोल टोलमा सुनिन थालेपछि होली (फागू) पर्व आएको अनुभव हुन्थ्यो तर होलीको आगमनको सङ्केत दिने जोगिरा भने अहिले औपचारिकतामा मात्र सीमित हुन पुगेको छ। जलेश्वर नगरपालिका–४, सुगाका वयोवृद्ध कृष्णचन्द्र झाले भन्नुभयो, “अब जोगिरा औपचारिकतामै बिलाउँदै गएको अनुभूति हुन थालेको छ। आक्कलझुक्कल कहीँकतै ग्रामीण क्षेत्रका बूढापाकाले मात्र मिथिला क्षेत्रको पारम्परिक जोगिरालाई थेगेको छ। न पहिलेजस्तो जोगिरा गाइन्छ न त जोगिरा गाउने मान्छे नै भेटिन्छ,” झा भन्नुहुन्छ, “एक दशकअघिसम्म होली अर्थात् फगुवा पर्व आउन एक महिनाअघिदेखि नै गाउँ र मिथिलाञ्चलभरि नै सुन्न र हेर्न पाइन्थ्यो। अब भने जोगिरा गाएको हेर्न र सुन्न विरलै पाइन्छ।” 

जब डम्फामा थाप हान्दै सुरिलो भाकामा मैथिली भाषामा गाइने प्रेमिल, हस्यौली ठट्यौली, मिलन बिछोडलगायतका भावभङ्गीमासहितको जोगिरा गाउन सुरु हुन्थ्यो। अनि जोगिरा गीतको लयमा लय मिलाएर गाउने र हेर्नेहरूको ओइरो नै लाग्न लाग्थ्यो तर अब भने अवस्था फेरिएको छ। जलेश्वर नगरपालिका–२ का स्थानीय जोगिरा गवैया मङ्गल पासवानले भन्नुभयो, “गाउँ टोलमा जोगिरा सुरु भएपछि होलीको सुभास छरिएर आउँथ्यो तर अब ती दिन गएजस्तो छ। जोगिरा सुरु भएपछि मात्र होली नजिक आउन थालेको अनुभूति हुन्थ्यो।” बालबालिकादेखि बूढापाका समेत होलीमा रमाउँथे। मिथिलाञ्चलको हरेक गाउँको वातावरणमा एक किसिमको मादकता र मोहकता छाउन थाल्थ्यो। अनि हास्य विनोद र कटाक्षले भरिएका प्रेमयुक्त भावभङ्गीमासहितका गीत जोगिराले सबैलाई मन्त्रमुग्ध बनाएपछि कोही पनि मन थाम्न नसकी नाच्न गाउन थाल्थे। जोगिराले एक छिनका लागि भए पनि सबैलाई आ–आफ्ना दुःख बिर्सेर एकापसमा मिलेर रमाउन बाध्य बनाउथ्यो। 

जन्मथलोमा जोगिरामै रमाउनका एक महिना अगावै रोजगारी र काम विशेषले गाउँ बाहिर रहने युवाजमात पनि घर फर्कन्थे। पहिले जस्तो जोगिरा गाइने क्रम लोप हुँदै गएपछि पे्रम, सद्भाव र भाइचाराको पर्व भनेर चिनिने होलीको उत्साहमा पनि बिस्तारै कमी आउँदै गएको बूढापाकाहरू बताउँछन्। युवापुस्तामा जोगिरालाई जोगाएर राख्न खासै इच्छा र चासो देखिँदैन, जलेश्वर नगरपालिका–४, सुगाका जोगिरा गवैया पुकार पासवानले भन्नुभयो, “अब त मृदङ्ग ढोल डम्फुको स्वर नै सुनिँदैन, न त जोगिरा गाएर मनोरञ्जन गर्ने समूह नै जम्मा हुन्छ।” जोगिरा लगभग लोप नै भइसकेको भन्दा पनि गलत नहुने पासवानको तर्क छ। 

जोगिरा संस्कृतिको जगेर्ना गर्ने र निरन्तरता दिने युवा समुदायको खाँचो देखिएको जलेश्वरका अर्का स्थानीय होलैया नागेन्द्र पासवानले बताउनुभयो। एकडारा गाउँपालिकास्थित भटौलियाका प्रवीण कर्णले मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकोमा दुःख व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “पहिले जोगिरा वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँटोल घुमेर गाइन्थ्यो।” स्थानीय बौएलाल ठाकुरले होलीको तर्क दर्शन लौकिकता र गम्भीरता नबुझ्दा होली भोगवादी र सहरमुखी भएको बताउनुभयो। 

अहिलेको होली रक्सी पिएर मातिने, उच्छृङ्खल कार्यहरूका लागि एउटा माध्यम बन्दै गएको छ। यी विकृतिलाई न्यूनीकरण गर्दै मौलिकता झल्काउने जोगिरा र गीत गाउने परम्पराको संरक्षणमा जोड दिनुपर्ने संस्कृतिविद्को भनाइ छ। जोगिरा प्रतियोगिता, जोगिरा गाउनेलाई प्रोत्साहन र पुरस्कृत गर्न पाए मात्रै होलीको संरक्षण गर्न सकिने संस्कृतिविद्को भनाइ छ।