• १२ वैशाख २०८१, बुधबार

डिस्टिलरीको फोहोरले स्वास्थ्यमा समस्या

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, फागुन १९ गते । बाँकेको जानकी गाउँपालिका वडा नं. ४ मा सञ्चालित कर्णाली डिस्टिलरी प्रालिबाट निस्कने फोहोरको उचित व्यवस्थापन नहुँदा मानव जीवनसँगै कृषि उत्पादनमा समेत प्रतिकूल असर पारेको छ। 

सो फोहोरबाट आउने दुर्गन्ध र फोहोरका कारण डिस्टिलरी आसपासको बस्तीमा बस्न, खान र आवागमन गर्नसमेत समस्या भएको छ। किसानले लगाएको कृषि बालीलाई पनि क्षति गरेको छ। मदिरा उद्योगबाट निस्कने फोहर सिधै किरण नालामा खसाउँदा सो क्षेत्रको वातावरण नै प्रदूषित बनेको खजुरा गाउँपालिका–४ का स्थानीय तिलकवीर सुनारले बताउनुभयो। 

डिस्टिलरीको क्यानल सिधा आएर किरण नालामा मिसिएको छ। डिस्टिलरीबाट निस्किने दुर्गन्ध र प्रदूषित पानीले निकै समस्यामा परेको गुनासो पटक–पटक आएको जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादवले बताउनुभयो। 

किरण नालामा बगाएको फोहोर पानीबाट पशुहरूमा रोग लाग्ने, बिरामी पर्ने गरेको साथै खेतबारीमा लगाएको कुनै पनि अन्नबाली नहुने गरेको खजुरा गाउँपालिका–४ का दीपक थापाले बताउनुभयो। 

त्यस्तै टाउको दुख्ने समस्या बढी हुने गरेको थापाको भनाइ छ। खजुरा गाउँपालिका क्षेत्रभित्र पर्ने सैनिक, के गाउँ, ए गाउँ, सीतापुर, राधापुर गाउँमा समेत सो फोहोरले असर पु-याएको छ।