• १६ चैत २०८०, शुक्रबार

देउडा गीतमार्फत मनोरञ्जन र सचेतना

blog

हुम्ला समाचारदाता

हुम्ला, फागुन १९ गते । बाजुराका दत्त मल्ल र हुम्ला जिल्ला अदानचुली गाउँपालिकाका देउडा गायक अक कार्कीबीच गीतमार्फत घम्साघम्सी परेको छ । दुई देउडा गायकले स्थानीयलाई मनोरञ्जन दिनुका साथै आफ्ना सिर्जना बाहिर ल्याउनुभएको हो । 

खासगरी चैतालो महोत्सवमा आएका दुवैले मेला सम्पन्न भएपछि पनि स्थानीयको आग्रहमा अतिरिक्त समय दिई देउडा गाउनुभएको हो । उहाँहरूको गीतमा भाका मिलाएर स्थानीय पुरुषहरूले सहयोग गर्नुभएको थियो । मल्ल र कार्की स्थानीय रूपमा देउडाका चर्चित गायक हुनुहुन्छ । सवाल–जवाफ देउडाबाटै दिने गरेका गायकद्वयले हुम्ला र छिमेकी बाजुरा जिल्लाका बारेमा पनि आफ्ना गीतबाट जानकारी गराउनुभएको थियो । उहाँहरूबीच १४ घण्टा लामो समयसम्म देउडा गाउने क्रम जारी थियो । प्रतिस्पर्धा नगरिए पनि उहाँहरू दुवैले देउडा गीतमार्फत आफूले जित्ने प्रयत्न गर्नुभएको थियो ।  उहाँहरूले एकअर्काका जिल्लामा हुने विकृति र विसङ्गतिलाई पनि गीतमार्फत सार्वजनिक गर्नुभएको थियो । आफ्ना जिल्लामा भएका विकृति र विसङ्गति हटाउन उहाँहरूका गीतका टुक्का सकारात्मक थिए ।