• १३ वैशाख २०८१, बिहिबार

मानव र वन्यजन्तु द्वन्द्व कम गर्न चेतना आवश्यक

blog

मकवानपुर समाचारदाता

हेटौँडा, फागुन १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मानव र वन्यजन्तुबीच पछिल्लो समयमा बढ्दो द्वन्द्व न्यूनीकरण गर्न नागरिकमा चेतना आवश्यक भएको बताउनुभएको छ ।

वन्यजन्तु पनि प्राणी नै भएका कारण  जनावरको स्वभाव, आनीबानीका बारेमा जानकारी हुनुपर्ने बताउँदै मानिसले पनि वन्यजन्तुलाई अत्याएका कारण पनि द्वन्द्व बढेको बताउनुभयो । 

जिल्ला समन्वय समिति मकवानपुर, डिभिजन वन कार्यालय हेटौँडा र डिभिजन वन कार्यालय राप्ती मकवानपुरले बिहीबार हेटौँडामा संयुक्त रूपमा आयोजना गरेको मानव र वन्यजन्तु द्वन्द्व एवं वन डढेलो न्यूनीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले वनजङ्गल विनाशले पनि मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको बताउनुभयो । 

वनजङ्गलमा खानपिनका वस्तु, पानीको अभावसँगै वनजङ्गल फँडानीका कारण बासस्थान साँघुरिँदै गएपछि वन्यजन्तु द्वन्द्व मानव बस्तीमा आउन थालेको हो भन्दै मुख्यमन्त्री जम्कट्टेलले भन्नुभयो, “वनजङ्गलको संरक्षणले मानव र वन्यजन्तुबीचको द्वन्द्वको समस्या कम हुन्छ ।”

उहाँले पहाडी क्षेत्रमा बाँदरको समस्या विकराल बन्दै गएको भन्दै नियन्त्रणका लागि बजेट माग गर्दै आएको बताउनुभयो । 

जिल्ला समन्वय समिति मकवानपुरमा प्रमुख ललितबहादुर घलानले मानवीय त्रुटिका कारण पनि वन्यजन्तुबाट मानवको ज्यान जाने गरेको बताउँदै मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न दीर्घकालीन रूपमा नीति र कार्यक्रम आवश्यक भएको बताउनुभयो । 

कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. अशोककुमार रामले मानव–वन्यजन्तु द्वन्द्व र क्षतिपूर्तिको प्रावधान, डिभिजन वन कार्यालय हेटौँडाका प्रमुख शिव सापकोटाले वन डढेलो नियन्त्रणमा वन कार्यालय, समूह, पालिकाको भूमिका र डिभिजन वन कार्यालय राप्ती मकवानपुरका प्रमुख विष्णु आचार्यले मकवानपुरको जैविक विविधताका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।