• ४ वैशाख २०८१, मङ्गलबार

अन्तिम खेलमा नेपालको कमजोर ब्याटिङ, युएईलाई एक सय ९२ रनको लक्ष्य

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन १८ गते । आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत जित्नै पर्ने अन्तिम खेलमा नेपालले घरेलु टोली युएईलाई एक सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

युएईस्थित आजमान रहेको इडेन गार्डेन ओभल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय ९१ रन बनायो । नेपालका लागि कप्तान 

देव खनालले अर्धशतकीय पारी खेल्नुभयो । उहाँले ५१ रन बनाउनुभयो । विशाल विक्रम केसीले ३८, उत्तम थापामगरले ३६, दिपेश कँडेलले १५, हेमन्त धामीले १३ र मिलन बोहराले १० रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

बलिङमा युएईका ध्रुव परासरले तीन, कप्तान आयन खान र हरितहर्ष सिट्ठीले दुई दुई तथा हर्षित सेठ र अम्मर बदामीले एक एक विकेट लिनुभयो । यस खेल नेपाल र युएईका लागि फाइनल सरह हो ।

जुन टोलीले यस खेल जित्छ उही टोलीले श्रीलङ्कामा आगामी वर्ष आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् ।

नेपालले यसअघि यस २०१६ मा आइसिसी यू–१९ विश्वकप खेलेको थियो । आज युएईलाई हराउन सके नेपालले दोस्रो पटक विश्वकपको ढोका खोल्नेछ ।