• १५ चैत २०८०, बिहिबार

राष्ट्रपति निर्वाचनका लागि सांसदलाई अभिमुखीकरण गरिँदै

blog

काठमाडौँ,  फागुन  १८ गते । नेपाली कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यलाई आज राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम गरिँदै छ ।

दिउँसो १ बजे नयाँ बानेश्वर तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीका सांसदका लागि अभिमुखीकरण कार्यक्रम गरिने तय भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने र आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन आह्वान गर्नुहुनेछ । ती आठ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिनुभएको छ । 

यस्तै नेकपा (एमाले) का तर्फबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुनुहुन्छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।  रासस