• १५ चैत २०८०, बिहिबार

राष्ट्रिय गौरवको आयोजना : बीस महिनामा सत्र प्रतिशत काम

blog

ध्यान कुलुङ

सङ्खुवासभा, फागुन १८ गते । कोसी कोरिडोर सडकमार्फत तीन देश जोड्ने उत्तरदक्षिण कोसी राजमार्गको खाँदबारी–नुम सडकखण्ड कालोपत्रे गर्न ठेक्का सम्झौता अवधिको २० महिना सकियो। योजना सम्पन्न अवधि ३६ महिनामध्ये २० महिना सकिँदा भौतिक प्रगति भने १७ प्रतिशत मात्र पुगेको छ। 

शर्मा शिवशक्ति जेभीले ठेक्का पाएर काम गर्न सुरु गरे पनि काममा उदासीनता देखाउँदा भौतिक प्रगति हुन नसकेको हो। ठेकेदार कम्पनीले ठेक्का पाएपछि परिचालन रकम (जम्मा ठेक्का रकमको १० प्रतिशत) भुक्तानी लिएर लामो समय काममा नफर्केपछि प्रगति हुन नसकेको हो।

जिल्लाका सरोकारवालाको लगातारको ताकितापछि ठेकेदार हाल काममा फर्किए पनि बाँकी १६ महिनामा आयोजना सम्पन्न हुने सम्भावना न्युन छ। सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट नुमसम्मको ३९ किलोमिटर कालोपत्रे गर्ने आयोजनामा कुनै अवरोध नभएको उत्तरदक्षिण कोसी सडक आयोजना कार्यालयका साइट इन्चार्ज इन्जिनियर रेशम ओलीले बताउनुभयो। 

उक्त आयोजनाका लागि बजेट अभावसमेत नरहेको उहाँले बताउनुभयो। खाँदबारी–नुम कालोपत्रे आयोजनाका लागि कुनै अवरोध नभए पनि निर्माण व्यवसायीले काम नगरेको इन्जिनियर ओलीको भनाइ छ। समय अनुकूल भौतिक प्रगतिका लागि निर्माण व्यवसायीलाई छलफलमा राखेर प्रतिबद्धता गराए पनि प्रगतिबाट सन्तुष्ट हुने अवस्था नरहेको उहाँको भनाइ छ।

निर्धारित समयमा सडक कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ। जथाभाबी खनिएको सडकले हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुँदा सवारीसाधन सञ्चालन गर्न अवरोध भएको छ। यस वर्ष पनि पानी पर्ने समयमा काम थालिएकोले गतवर्ष जस्तै सास्ती खेप्नुपर्ने अवस्था आएको सोही सडकखण्डमा पर्ने चिचिला गाउँपालिकाका अध्यक्ष पासाङनुर्वु शेर्पाले बताउनुभयो। “योजना सम्झौता गरेर नियमित काम गरेको भए अधिकांश ठाउँमा ग्राभेल भइसक्थ्यो तर जथाभाबी खनेकोले यो वर्ष झन् समस्या हुने भयो,” अध्यक्ष शेर्पाले बताउनुभयो।

शर्मा शिवशक्ति जेभीले २०८० पुस १७ गते सम्पन्न गर्ने गरी २०७८ असार १७ गते उत्तरदक्षिण कोसी सडक आयोजनाको कार्यालय सङ्खुवासभासँग सम्झौता गरेको थियो। ३९ किलोमिटर सडकको कालोपत्रे गर्नका लागि ४८ प्रतिशत ‘बिलो’मा शर्मा शिवशक्ति जेभीले ठेक्का पाएको थियो। दुई अर्ब ६० करोड रकम विनियोजन भएकोमा शर्मा शिवशक्तिले एक अर्ब २७ करोडमा ठेक्का पाएको हो। उक्त बजेटबाट तीन खण्डमा विभाजन गरी ठेक्का खुलाइएको थियो। तीनवटै ठेक्का शर्मा शिवशक्ति जेभीले पाएको थियो।