भक्तपुरमा सामूहिक आवासका लागि पहल

भक्तपुर, असार  ७ गते  । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले भक्तपुरका शहरी क्षेत्रमा बहुस्वामित्वका हिसाबले सामूहिक आवासका लागि पहल गर्नुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले उठाएका समस्याको समाधानका लागि यस्तो सुझाव दिनुभएको हो ।
उहाँले इन्जिनियर तथा प्राविधिकहरूलाई स्थानीय तहकै मातहत रहने गरी खटाइएको जानकारी दिदै उनीहरुबाट अधिकतम काम लिन पनि आग्रह गर्नुभयो । भक्तपुरमा जग्गासम्बन्धी समस्याको समाधान हुन नसक्दा अधिकांश भूकम्पपीडितले निजी आवास पुनःनिर्माण गर्न नसकेको सहभागी जनप्रतिनिधिहरूले गुनासो गरेका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालले भक्तपुरमा निजी आवास निर्माण गर्न जग्गा दर्ता, बाटोको मापदण्ड, नक्सापासका समस्या र कतै पनि दर्ता नभएका कयौँ निजी गुठीका कारण भूकम्पपीडितले घर बनाउन नसकेको बताउनुभयो ।
उहाँले पुनर्निर्माणको कार्यलाई गति दिन स्थानीय निकायलाई अगुवाई गर्न दिनुपर्ने र पीडितका आवास निर्माण गर्दा नक्सा निर्माण गर्न र पास गर्ने शुल्क मिनाहा गरिदिनुपर्ने सुझाब पनि दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपाध्यक्ष सरिता कुँवरले भूकम्पबाट प्रभावित एकल महिलालगायत जोखिममा परेकाको आवास निर्माणमा गति दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा भक्तपुर वडा नम्बर ६ का वडाध्यक्ष हरिराम सुवालले कतिपय सदस्यहरूवीच अंशसम्बन्धी विवादका कारण, सीमा तथा किल्ला विवाद रहेको, नक्सापासका लागि सर्जमिन हुन नसकेको र पहिले नै बनेका घरको नक्सा पास हुन समस्या रहेको बताउनुभयो ।
कुल २८ हजार ३०२ लाभग्राही रहेको भक्तपुरमा हालसम्म दुई हजार ९६० निजी आवास मात्र निर्माण सम्पन्न भएका छन् भने सात हजार ७३ ले पुनर्निर्माण गर्न थालेका छन् । पहिलो किस्ताको अनुदान रकम २३ हजार ५१९ ले बुझे पनि विभिन्न समस्याका कारण घर बनाउनसकेको छैनन् ।
प्राधिकरणले असार मसान्तभित्र ६० प्रतिशत भूकम्पपीडितलाई सुरक्षित छानामुनि ल्याइसक्ने दावी गर्दै आए पनि प्राधिकरण भर्खरै मात्र समस्या पहिचान गर्न र समाधानको उपाय पहिल्याउन भन्दै जिल्लागत रूपमा अन्तरक्रिया गर्न थालेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना