• १४ वैशाख २०८१, शुक्रबार

सुरुङ मार्गको अध्ययन गर्न सम्झौता

blog

बनेपा समाचारदाता

बनेपा, फागुन १८ गते । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) र बेथानचोक गाउँपालिकाबीच ढुङ्खर्कखोला–च्याम्राङबेँसी सडकमा सुरुङ मार्ग निर्माणका लागि अध्ययन गर्ने समझदारी भएको छ।

विश्वविद्यालयको इन्जिनियरिङ विभागका डिन प्राडा मनीष पोखरेल र गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा विश्वविद्यालयले ढुङ्खर्क खोला–च्याम्राङबेँसी सडकखण्डअन्तर्गत बेथानचोक गाउँपालिका–२ को दुर्लुङखोला बाइस सय ढुङ्गा हुँदै वडा नम्बर १, च्याम्राङबेँसी चौतारासम्म सुरुङ मार्ग निर्माणको अध्ययन गर्ने उल्लेख छ। सुरुङ मार्गको अध्ययनका लागि गाउँपालिकाले विश्वविद्यालयलाई १० लाख रुपियाँ उपलब्ध गराउनेछ। 

केयूले सुरुङ मार्ग निर्माणका लागि त्यहाँको वातावरणीय प्रभाव मूल्याङ्कन, भौगर्भिक अवस्था, सुरुङ मार्गको डिजाइन तथा सुरुङ मार्ग निर्माण लागत अनुमानको अध्ययन गरी गाउँपालिकालाई प्रतिवेदन बुझाउनेछ। समझदारीपत्र हस्ताक्षर कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सुरुङ मार्ग निर्माणको अध्ययन गर्न गाउँपालिकासँग भएको सम्झौताले स्थानीय तहसँग मिलेर काम गर्ने अवसर प्राप्त भएको बताउनुभयो। उहाँले विश्वविद्यालयले गर्ने सुरुङ मार्गको अध्ययनबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सिकाइ र खोज अनुसन्धानमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो। 

गाउँपालिकाका अध्यक्ष अधिकारीले ढुङ्खर्क खोला–च्याम्राङबेँसी सडकअन्तर्गत गाउँपालिकाको वडा नम्बर २, ४ र १ मा सुरुङ मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्न समझदारी गरिएको बताउनुभयो। उहाँले गाउँपालिकाले प्रस्ताव गरेको वडा नम्बर–२ दुर्लुङखोला, बाइस सय ढुङ्गा हुँदै वडा नम्बर १ को च्याम्राङबेँसी चौतारासम्म करिब एक किलोमिटर सुरुङ मार्ग हुने बताउनुभयो। उहाँले विश्वविद्यालयले अध्ययन गरेको सुरुङ मार्ग निर्माणका लागि प्रदेश सरकार र सङ्घीय सरकारलाई अनुरोध गरी लगानीकर्ता आकर्षित गरी प्राज्ञिक प्रयोगशालाका रूपमा विकास गरिने बताउनुभयो। 

अध्यक्ष अधिकारीले सुरुङ मार्ग निर्माण भए वडा नम्बर ४ को सेती भीरमा जाने सुक्खा पहिरो नियन्त्रणसँगै प्रदेश राजधानी हेटौँडा जोड्ने वैकल्पिक राजमार्गका रूपमा बनेपा, पनौती, बेथानचोक, खानीखोला, बागमती गाउँपालिका हुँदै धरान–चतरा जोड्ने राजमार्ग पुग्न छोटो दूरीको सडक हुने बताउनुभयो।