• १३ वैशाख २०८१, बिहिबार

पौडेल र नेम्वाङ मत माग्न व्यस्त

blog

काठमाडौँ, फागुन १८ गते । राष्ट्रपतिको निर्वाचनका लागि आठ राजनीतिक दलको प्रचारप्रसार अभियान बिहीबारबाट सुरु हुँदै छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङका अनुसार आठ दलीय गठबन्धनले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूसँग अभिमुखीकरणसहित भेटघाटमार्फत राष्ट्रपति निर्वाचनको प्रचारप्रसार बिहीबारदेखि सुरु गर्ने भएको हो। 

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गर्नुभएको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पौडेललाई समर्थन गरेका छन्। 

त्यसैगरी शुक्रबार प्रदेश सभा सदस्यको भेला गर्ने आठ दलको तयारी छ। कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले प्रचारप्रसारको संयोजन गर्नेछ। कांग्रेस मुख्यसचिव एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद पौडेलले कांग्रेसको संयोजन र व्यवस्थापनमा आठ राजनीतिक दलका प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका निम्ति राष्ट्रपति निर्वाचनकेन्द्रित अभिमुखीकरण राखिएको बताउनुभयो। उहाँका अनुसार दिउँसो १ बजे रोयल ब्याङ्क्वेट तीनकुनेमा अभिमुखीकरण कार्यक्रम हुनेछ।

एकीकृत समाजवादीका महासचिव डा. वेदुराम भुसालका अनुसार फागुन २३ गतेसम्ममा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यलाई काठमाडौँमा उपस्थित हुन आठै राजनीतिक दलले निर्देशन दिएका छन्।

छलफलमा उम्मेदवार

राष्ट्रपतिका उम्मेदवार पौडेलले सन्देशमार्फत प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यहरूसँग मत माग्नुभएको छ। उहाँले पुनः औपचारिक पत्र पठाएर मत माग्ने बताउनुभयो। संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग पनि संवाद गरिरहेको बताउँदै उहाँले भन्नुभयो, “मैले सबै माननीय सदस्यहरूसँग सम्पर्क गरिरहेको छु। सबैसँग मत मागेर सन्देश पठाएँ। अब पत्र पठाउँदै छु। संसद्का सबै राजनीतिक दलका नेतासँग छलफल गरेर मतदानमा सहयोग माग्दै छु।”

त्यसैगरी राष्ट्रपतिका अर्का उम्मेदवार नेम्वाङले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँगको छलफल तीव्र पार्नुभएको छ। बिहीबार दलको कार्यालयमै गएर मत माग्ने बताउँदै उहाँले भन्नुभयो, “सबै दलसँग छलफलमा छौँ। सबै मतदाता माननीयसमक्ष पुग्ने काम भइरहेको छ। बिहीबार कार्यालयमै गएर भेट्दै छौँ। देशव्यापी रूपमा फोन सम्पर्क गर्दै छौँ। भेला सम्मेलनको कार्यक्रम छैन, हामी भेटघाटमै केन्द्रित छौँ।”