• १६ चैत २०८०, शुक्रबार

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभा बैठक सर्‍यो : प्रवक्ता गिरी

blog

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेकोबारे जानकारी दिनुहुँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी । तस्बिर : न्यूज एजेन्सी

काठमाडौं, फागुन १७ गते । सङ्घीय संसद् सचिवालयले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका कारण प्रतिनिधि सभाको बैठक पछि सार्नुपरेको बताएको छ ।

प्रतिनिधि सभाको १४ औँ बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने कार्यसूची थियो । तर, सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी आगामी चैत्र ५ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराएको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक पर सार्नुपरेको बताउनुभयो । उहाँले सभामुख देवराज घिमिरे इन्टर पार्लियामेण्ट्री युनियन (आईपियु) को बैठकमा भाग लिन आगामी फागुन २६ गते बहराइन जाने कार्यक्रम रहेकाले पनि बैठक पछि सारिएको जानकारी दिनुभयो ।

‘‘बैठक स्थगितभन्दा पनि यो बैठक बस्ने दिन र समय परिवर्तन भएको हो । आजका लागि निर्धारित भएको प्रतिनिधि सभाको बैठक आगामी चैत्र ५ गते दिनको १ बजे बस्नेगरी दिन र समय परिवर्तन भएको हो । सभामुखको निर्देशानुसार यस सम्बन्धी सूचना हामीले नियमानुसार टाँस गरिसकेको अवस्था छ ।,’’

प्रवक्ता गिरीले भन्नुभयो, ‘‘लगत्तै आउँदै गरेको फागुपूर्णिमा, नारी दिवस, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सभामुखको छिट्टै हुने आईपियुको भिजिटलगायतका कारणले चैत्र ५ गते तोकिएको हो । सभामुख आईपियुको सम्मेलनमा भाग लिन फागुन २६ गते त्यसतर्फ जाने कार्यक्रम रहेकाे छ ।’’

प्रवक्ता गिरीले लगत्तै फागुपूर्णिमा, नारी दिवस लगायतका दिनहरू परेकाले पनि बैठक तत्कालै राख्न नसकिने अवस्था रहेको उल्लेख गर्नुभयो ।