• १५ चैत २०८०, बिहिबार

मन्त्री किरातीद्वारा नेपालगञ्ज विमानस्थलको स्थलगत निरीक्षण

blog

मन्त्री किराती टर्मिनल भवन निर्माणबारे निरीक्षण गर्नुहुँदै । तस्विरः सिराज खान । नेपालगञ्ज

सिराज खान 

नेपालगञ्ज, फागुन १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बुधबार नेपालगञ्ज विमानस्थलको निरीक्षण तथा अनुगमन गर्नु भई स्तरोन्नतिको कामको प्रगतिबारे जानकारी लिनुभएको छ । 

सो विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन तयार गरिएको २० वर्षे गुरुयोजना अनुसार अत्याधुनिक टर्मिनल भवनको निर्माण कार्यलगायत मन्त्री रनवे, पार्किङ र विमानस्थलको उहाँले समग्र निरीक्षण गर्नुभएको हो । 

सो अवसरमा उहाँले तीन अर्ब रुपियाँको लगानीमा भइरहेको विमानस्थलको स्तरोन्नतिको कामबारे नयाँ टर्मिनल भवन निर्माणको जिम्मा पाएको शर्मा एण्ड कम्पनीसँग विस्तृत जानकारी लिनुभयो । 

नेपालगञ्ज–दिल्ली उडान सुरु गर्ने दीर्घकालीन योजना रहेको विमानस्थल निरीक्षण गर्दै उहाँले निर्धारित समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभयो । 

टर्मिनल भवनको निर्माण कार्य गरिरहेको शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले मन्त्री किरातीलाई सो भवन निर्माणका विविध पक्षहरूबारे जानकारी गराउनुभएको थियो । 

निर्माण कार्यको जानकारी गराउँदै शर्मा एण्ड कम्पनीका निर्देशक सौरभ शर्माले हालसम्म निकै तीव्र गतिमा काम भइरहेको जनाउँदै निर्धारित समय तीन वर्ष भन्दा पाँच महिना पहिले नै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताउनुभयो । 



विमानस्थलको निरीक्षण टोलीमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलगायतको पनि सहभागिता थियो । 

अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ ।  टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ । 

करिब ५० वर्ष पुरानो सो टर्मिनल भवनबाट दैनिक ५० देखि ६० वटा उडान सञ्चालन हुँदै आएको छ ।