• १३ वैशाख २०८१, बिहिबार

सर्वोच्चमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम गर्छौँ : कामु प्रधानन्यायाधीश

blog

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की । फाइल तस्बिर

काठमाडौं, फागुन १७ गते । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायलाई ढिलो हुनबाट रोक्नका लागि सर्वोच्च अदालतमा पाँच वर्षभन्दा बढी मुद्दा नराख्ने गरी काम सुरु गरेको बताउनुभएको छ । कानुन व्यवसायी क्लब काठमाडौं तथा शंकरलाल केडिया फाउण्डेशनको सम्मान तथा पुरस्कार कार्यक्रमलाई मङ्गलबार सम्बोधन गर्नुहुँदै यस्तो दाबी गर्नुभएको हो ।

उहाँले अब सर्वोच्च अदालतमा दर्ता भएका कुनै पनि मुद्दा पाँच वर्षभित्रमा टुङ्ग्याइसक्ने गरी काम सुरु गरिएको बताउनुभयो । कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतमा पाँच प्लस जिरो र उच्च र जिल्ला अदालतमा दुई प्लस जिरोमा मुद्दाको फस्र्यौट गरिसक्ने जानकारी दिनुभयो ।

कामु प्रधानन्यायाधीश कार्कीका अनुसार अबबाट सर्वोच्च अदालतले अदालतमा दर्ता भएका मुद्दाहरू पाँच वर्षसम्ममा टुंग्याइसक्नुपर्ने र उच्च र जिल्ला अदालतले दुई वर्षभित्रमा अदालतमा दर्ता भएका सबै मुद्दाको छिनोफानो गरिसक्नुपर्ने छ । यस कार्यमा सबै कानुन व्यवसायीहरूले प्रतिबद्धता जनाइसकेको र अझै पनि कानुन व्यवसायीहरूको साथ र समर्थन आवश्यक रहेको उहाँको भनाइ छ ।

कामु प्रधानन्यायाधीश कार्कीले समयमै मुद्दा छिनोफानो गर्नका लागि बहस व्यवस्थापन, लिड लयर्सको कन्सेप्ट र मुद्दामा अति आवश्यक एकदमै मानवीय कुरामा बाहेक अरू अवस्थामा मुद्दा  हटाउँदैनौँ भनेर प्रतिबद्धता गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले यी कुराहरू पालना गरेको खण्डमा आगामी असार मसान्तसम्ममा लक्ष्यमा पुग्ने दाबी गर्नुभयो ।

कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाले समयमा न्याय प्रदान गर्ने र न्याय औचित्यहीन ढङ्गले औचित्य नै समाप्त परिसक्ने अवस्था सिर्जना नगर्नका लागि सबै कानुन व्यवसायीहरूसँग आह्वान गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गर्नुभयो । उहाँले आफ्नो कार्यालयमा रहेका मुद्दाहरू लामो समय भइसकेको र औचित्यहीन बन्न लागेको भए सम्बन्धित अदालतमा जानकारी दिए औचित्य समाप्त हुन नदिनका लागि अदालतको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले मास्टर अफ द लको भूमिका निर्वाह गर्ने हो भने सबै कानुन व्यवसायीहरूले संविधान र कानुनी शासनको प्रवर्द्धनका लागि पक्षधरको मात्र नभई विपक्षीलाई पनि न्याय हुनेगरी न्याय सम्पादन गर्न जरुरी रहेको बताउनुभयो ।

कामु प्रधानन्यायाधीश कार्कीले न्यायालयको श्रीवृद्धि गराई निष्पक्ष न्याय सम्पादन गर्नेकुरामा सबै कानुन व्यवसायीहरूले दत्तचित्त भएर लाग्नुपर्ने बताउनु भयो ।