• ७ वैशाख २०८१, शुक्रबार

दुई हप्ताभित्रै कमला पुलको थप निर्माण कार्य सुरु हुने : मन्त्री श्रेष्ठ

blog

जीवछ यादव 

लहान, फागुन १६ गते । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडकअन्तर्गत कमला पुलको थप निर्माण कार्य सुरु हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कमला पुलको सोमबार निरीक्षण गर्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

मन्त्रालयका सचिव र प्राविधिक टोलीसहित आइपुग्नुभएको मन्त्री श्रेष्ठले भन्नुभयो, “विगतमा ठेक्का टेन्डर लिएर काम नगर्ने गरेपछि कमसल काम गरेर अनियमितता र भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले काम गरेर देखाउने छ।”

मधेशको समृद्धि र विकास नभएसम्म देशको समृद्धि र विकास सम्भव नहुने स्पष्ट पार्दै मन्त्री श्रेष्ठले मधेशको जीवनरेखा रहेको हुलाकी सडक निर्माणका बाँकी कार्य पनि द्रुत गतिमा अघि बढने बताउनुभयो। वर्तमान सरकार राष्ट्रिय सहमतिको माध्यमबाट अघि बढ्ने व्याख्या गर्दै उहाँले कमला पुल निर्माणका लागि सिरहाका नागरिक समाज र राजनीतिक दलले गरेको ताकेता सराहनीय रहेको बताउनुभयो।

धनुषा र सिरहाको सिमाना रहेको कमला नदीमा निर्माण भइरहेको पुल उदघाट्न नहुँदै पाया भासिएपछि अलपत्र परेको थियो। पुलको ९५ प्रतिशत काम सम्पन्न भइसकेको दाबी गरिएको छ। यद्यपि बाँकी काम सुरु नभएपछि पुल पुनः बन्ने या नबन्नेबारे सिरहा र धनुषाको स्थानीय चिन्तामा थिए। मन्त्री श्रेष्ठले आफैँ अनुगमन गरी निर्माण कार्य चाँडै सुरु गर्ने प्रतिबद्धता जनाउनुभएपछि स्थानीय खुसी भएका छन्। 

२०७८ साल असार १७ गते आएको सामान्य बाढीलाई थेग्न नसकेर पुलको पाया भासिएको थियो। पुल निर्माणका लागि हुलाकी सङ्घर्ष समिति गठन गरेर दबाबमूलक कार्य नागरिक अगुवा रामरिझन यादवको अगुवाइमा भएपछि पप्पु कन्ट्रक्सन र लुम्बिनी बिलडर्सले निर्माण कार्य थालेका थिए।  

यसअघि सोमबार बिहानै मिर्चैया नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री श्रेष्ठले विकास निर्माणको क्षेत्रमा देखिएको ढिलासुस्ती र भ्रष्टाचार सह्य नहुने बताउनुभएको थियो। अब सरकारको अर्जूनदृष्टि समृद्धि, विकास र सामाजिक न्याय रहेकोले इमानदारीपूर्वक काम गर्नेलाई पुरस्कृत, भ्रष्टाचार र अनियमितता गर्नेलाई दण्डित गर्ने नीतिअनुसार वर्तमान सरकारले काम गर्ने उहाँले बताउनुभयो। 

आफूले सम्हालेको मन्त्रालयमा बिचौलिया र भ्रष्टाचारीको कुनै चलखेल नचल्ने दृढता व्यक्त गर्दै उहाँले निर्माण कार्यको ठेक्का लिएर समयमा काम नगर्ने र मिलोमतोमा फर्जी बिल भर्पाई पेस गरी भ्रष्टाचार गर्नेलाई छुट नहुने बताउनुभयो। उहाँले थप्नुभयो ‘‘तलदेखि माथिसम्म भइरहेको अनियमितता र भ्रष्टाचारको छानबिन गर्ने कार्य भइरहेको छ। भ्रष्टाचारमा संलग्न पार्टीको नेता कार्यकर्ता जो कोहि भए पनि छाडिने छैन।”

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनुभएको उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय सहमतिकै आधारमा मुलुकको विकास सम्भव भएको बताउनुभयो। उहाँले सहमतिका लागि राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई अघि सारेको प्रष्टयाउनुभयो।