भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास र समृद्धि नहुने

badal

गोरखापत्र समाचारदाता–
काठमाडौँ, जेठ ३० गते । गृहमन्त्री रामबहादुर थापा ‘वादल’ले पार्टी प्यालेस व्यवसायलगायतमा हप्ता असुली गर्ने गुण्डा तथा प्रहरीलाई सरकारले नछाड्ने बताउनुभएको छ ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारणसभा तथा प्रथम महाधिवेशनको उद्घाटन गर्दै उहाँले भ्रष्टाचार, कुशासन र गुण्डाराज अन्त्य नभएसम्म मुलुकको विकास र समृद्धि नहुने बताउनुभयो ।
‘‘पार्टी प्यालेस र क्याटरिङ क्षेत्र सेवामूलक उद्योग हो, यसको विकास गरेर बेरोजगार लाखांै युवालाई रोजगार दिनु जरुरी छ । उहाँले भन्नुभयो, ‘‘विदेशमा भौतारिएका नेपाली युवालाई स्वदेशमा रोजगारी सिर्जना गर्नु अपरिहार्य छ, सरकारले यसबारे ठोस कदम चाल्नेछ ।’’
परनिर्भरता हटाएर आत्मनिर्भर अर्थतन्त्र विकास गर्नु आवश्यकतामा जोड दिनुहुँदै उहाँले प्रशासनमा ढिलासुस्ती कर्मचारीतन्त्रका अवरोधलाई हटाउन सरकारले ऐन कानून तर्जुमा गरेको बताउनुभयो ।
अहिलेको सरकारको मुख्य अभिभारा भनेको ब्यवसायलाई पूर्णतः सुरक्षा दिँदै प्रशासनमा शुन्य सहनसिलताको नीति अख्तियार गरेको बताउँदै भष्टाचारीहरुको नाम दिन पनि सम्बद्ध पक्षलाई गृहमन्त्री वादलले अपिल गर्नुभयो ।
पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अहिलेको सरकारले देशलाई समृद्धि र विकासतिर अगाडि बढाउने कुरामा शंका नगर्न प्रतिपक्षी दललाई आह्वान गर्नुभयो ।
पूर्व उद्योगमन्त्री नविन्द्रराज जोशीले सम्पूर्ण उद्योग ब्यवसासीको हितको लागि सरकारले चासो देखाउन जरुरी रहेको बताउनुभयो ।
ललितपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्णलाल महर्जनलगायतका नेतृत्वहरुले शुभकामना दिनुभएको थियो ।
महासंघका अध्यक्ष अरुणशंकर वैद्यले नेपालमा चार दशकअगाडि स्थापना भएको पार्टी प्यालेस तथा क्याटरिङ हाल नेपालको ४४ जिल्लामा चार हजार हाराहारीमा रहेको गोरखापत्रलाई जानकारी गराउनुभयो ।
महाधिवेशनमा देशभर रहेका व्यवसायीका विभिन्न समस्या तथा उपभोक्तालाई सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा उपलब्ध गराउने विषयमा छलफल हुनेछ । महाधिवेशनपछि नयाँ कार्यसमिति चुन्ने महासंघमा हाल देशभर ४२ जिल्लाका २०० महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds