• १६ चैत २०८०, शुक्रबार

‘चट्याङ सत्तरी’ आयोजना

blog

काटमाडौँ, फागुन १६ गते । सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष चट्याङ मास्टरको जन्मदिवसका अवसरमा सिस्नुपानीले ‘चट्याङ सत्तरी–२०७९’ कार्यक्रम आयोजना गरेको छ ।

पाठशाला नेपालको सभाकक्षमा आयोजित कार्यक्रममा हास्यव्यङ्ग्य क्षेत्रका व्यक्तिहरूले चट्याङ मास्टरलाई शुभकामना व्यक्त गर्नुभयो । सिस्नुपानीका जेठा संस्थापकको जन्मदिवसलाई उज्यालो पार्न माहिला संस्थापक थरेन्द्र बरालले शुभकामनास्वरूप दीप प्रज्वलन गरेपछि कार्यक्रम आरम्भ गरिएको थियो । कार्यक्रमको सुरुमै चट्याङ मास्टर र रमेश खकुरेलले संयुक्त रूपमा डा. मुकेश चालिसेद्वारा लिखित ‘मानिला मान्छेका धामा’ नामक कृति लोकार्पण गर्नुभयो । 

सिस्नुपानीका साहिँला संस्थापक नरनाथ लुइँटेलले चट्याङ मास्टरको व्यक्तित्वमाथि प्रकाश पार्दै २५ वर्ष लामो सहयात्रामा आफूले चट्याङ मास्टरमा फेला पारेको प्रत्युत्पन्न मति र चट्याङको राष्ट्रिय–अन्तर्राष्ट्रिय योगदानलाई संश्लेषित रूपमा प्रकाश पार्नुभयो । 

कार्यक्रममा मनोज गजुरेल, अनिल पौडेल किर्ते, चक्र दवाडी र लक्ष्मण गाम्नागेले चट्याङ मास्टरका उत्कृष्ट हास्यव्यङ्ग्य कविता वाचन गर्नुभयो । कार्यक्रममा चट्याङ मास्टरले सास फेर्नु मात्र बाँच्नु होइन भन्दै समाज र राष्ट्रका निमित्त केही न केही योगदान दिँदा नै मरेर पनि बाँचिरहनुको सार्थकता रहन्छ भन्नुभयो । उहाँले आफ्नो जन्मदिनलाई यति अविस्मरणीय बनाइदिएकामा सिस्नुपानी नेपाल र सहभागी सबै विशिष्ट महानुभावमा आभार व्यक्त गर्नुभयो ।