• ७ वैशाख २०८१, शुक्रबार

द्रुत मार्ग नबन्दा चोभार सुक्खा बन्दरगाह सञ्चालनमा बाधा

blog

काठमाडौँ, फागुन १६ गते । चोभारस्थित सुक्खा बन्दरगाह पूर्ण सञ्चालनका लागि अन्य पूर्वाधारको समस्या रहेको औँल्याइएको छ । नेपाल इन्टरमोडेल यातायात विकास समितिका अनुसार बन्दरगाह क्षेत्र पूर्ण तयार भए पनि त्यहाँसम्म हुने ढुवानीको सहज व्यवस्था नहुँदा समस्या परेको हो । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सो बन्दरगाह सञ्चालनका लागि अत्यावश्यक मानिएको काठमाडौँ–तराई द्रुत मार्ग निर्माणमा भएको ढिलाइ मूल कारण रहेको औँल्याउनुभयो । चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय परिसरमा सोमबार आयोजित एक कार्यक्रममा उहाँले सो सडक तयार भए निर्बाध रूपमा कन्टेनर आउने र पूर्ण क्षमता उपयोग गर्न सकिने दाबी गर्नुभयो । बन्दरगाह तयार हुनुअघि नै बनिसक्नुपर्ने फास्ट ट्र्याक अझै बनेको छैन । “पृथ्वी राजमार्ग हुँदै कन्टेनर ल्याउन व्यवसायीलाई सहज छैन । सय वर्ष चल्ने संरचना एक/दुई वर्ष सञ्चालन नहुँदैमा ठूलो समस्या मान्नु पनि आवश्यक छैन,” उहाँले भन्नुभयो । 

आयात तथा निर्यातकर्ता व्यवसायीलाई बन्दरगाह परिसरमा आवश्यक सबै सुविधा तथा सहुलियत व्यवस्था गरिएको भन्दै उहाँले निकट भविष्यमा भने पूर्ण क्षमतामा चल्ने बताउनुभयो । 

गत चैतदेखि सञ्चालनमा ल्याइएको सो बन्दरगाहबाट हालसम्म १०९ कन्टेनर भित्रिएका छन् । तीमध्ये चार कन्टेनर निर्यात भएको र १०५ कन्टेनर आयात भएको बन्दरगाहस्थित भन्सार कार्यालयकी अपरेसनल अधिकृत शान्तिला कार्कीले जानकारी दिनुभयो ।