• ७ वैशाख २०८१, शुक्रबार

प्रज्ञाका आजीवन सदस्यको दोहोरो सुविधा कटौती

blog

काठमाडौँ, फागुन १६ गते । नेपाल प्रज्ञाप्रतिष्ठानले अन्य संस्थाबाट पनि मासिक सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यलाई प्रतिष्ठानको तर्फबाट दिइरहेको मासिक सुविधा कटौती गरेको छ । 

त्यस्तो सुविधा फागुनदेखि रोक्ने निर्णय गरिएको प्रतिष्ठानले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । भाषासाहित्य, संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु-याएका व्यक्तिलाई प्रतिष्ठानले आजीवन सदस्यता प्रदान गर्छ । यस्ता सदस्य २२ जना छन् । 

आजीवन सदस्यले अन्य क्षेत्रबाट सेवानिवृत्त भएपछि पाइरहेको सुविधाको अतिरिक्त प्रतिष्ठानले उपलब्ध गराउने सुविधा पनि लिइरहेका थिए । प्रतिष्ठानका कुलपति भूपाल राईले अरूलाई नैतिकता र संस्कारको पाठ सिकाउने प्राज्ञले नै दोहोरो सुविधा लिँदा जनमानसमा नकारात्मक सन्देश गएकाले दोहोरो सुविधा नदिने निर्णय गरिएको बताउनुभयो । 

पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “नेपालीको प्रवृत्ति जहाँ जति भेटिन्छ, खानैपर्ने जस्तो देखियो । अब त अलिकति भने पनि नैतिकवान् हुनुपर्छ भनेर यस्तो निर्णय गरेका हौँ ।” प्रतिष्ठानको अतिरिक्त अन्य ठाउँबाट पनि सुविधा लिइरहेका सदस्यलाई प्रतिष्ठानमा भत्ता नबुझ्न उहाँले अनुरोध गर्नुभयो । 

प्रतिष्ठान आजीवन सदस्य साहित्यकार झमककुमारी घिमिरेलाई मासिक २५ हजार रुपियाँ आजीवन भत्ता तथा राष्ट्रियगानका रचनाकार व्याकुल माइलालाई मासिक ५० हजार रुपियाँ जीवन निर्वाह भत्ताका रूपमा सुविधा उपलब्ध गराइँदै आएको छ । प्रतिष्ठानले बाँकी आजीवन सदस्यलाई भने मासिक ५१ हजार ४७४ रुपियाँ उपलब्ध गराइरहेको छ । 

उहाँहरूले प्रतिष्ठानको अतिरिक्त अन्य कुन–कुन निकायबाट सुविधा लिइरहेका छन् भन्ने विषयमा आफूहरूले अध्ययन गरिरहेको प्रतिष्ठानका उपकुलपति विमल निभाले बताउनुभयो । उहाँले भन्नुभयो, “जसले दोहोरो सुविधा लिइरहनुभएको छ, उहाँहरूलाई प्रतिष्ठानबाट सुविधा नलिन अनुरोध गरेका छौँ ।” दोहोरो सुविधा प्रदान गर्न प्रज्ञाप्रतिष्ठान ऐन २०६४ को दफा २८ को उपदफा ४ ले पनि बन्देज गराएको उहाँले जानकारी दिनुभयो । 

प्रतिष्ठानका आजीवन सदस्यमध्ये आधाभन्दा बढी प्राध्यापन क्षेत्रबाट आउनुभएको छ । दोहोरो सुविधा लिनेमध्ये पनि आधाभन्दा बढी प्राध्यापन क्षेत्रमै आबद्ध भएर निवृत्तिभरण लिइरहेको हुन सक्ने प्रतिष्ठानको अनुमान छ । प्रतिष्ठानको रिक्त प्राज्ञ सभा तथा परिषद् यही फागुन ४ गते गठन भएको थियो । प्रतिष्ठानमा कुलपति तथा उपकुलपतिसहित ११ जना सदस्य रहन्छन् । प्रतिष्ठानले परिषद्का सदस्यहरूको कार्यविभाजन पनि गरेको छ ।