• ७ वैशाख २०८१, शुक्रबार

विश्वकप लिग–२ : पीएनजीमाथि नेपालको सहज जित

blog

पीएनजीको विकेट झारेपछि नेपालका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, फागुन १५ गते । नेपालले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा  पपुवा न्युगिनी (पीएनजी)माथि सहज जित निकालेको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको यस सिरिजको आफ्नो पहिलो खेलमा नेपालले पीएनजीलाई चार विकेटले हरायो । 

जितका लागि पीएनजीले दिएको दुई सय चार रनको लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन जोड्दै लक्ष्य पूरा गरेको हो । 

नेपालका लागि कुशल भुर्तेलले ५६ रन बनाउनुभयो । आशिफ शेखले ४४, आरिफ शेखले ३८, कप्तान रोहितकुमार पौडेलले २० र दीपेन्द्रसिंह ऐरीले १७ रन बनाउनुभयो । बलिङमा पीएनजीका कप्तान असद भालाले तीन विकेट लिनुभयो । नर्मन भानुवा र सेसे बाउले एक एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको थियो ।

पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउनुभयो । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाउनुभयो ।

बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिनुभयो । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिनुभयो । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गर्नुभएको हो । 

जितसँगै २९ खेलबाट २८ अंक बनाएको नेपाल छैटौं स्थानमा छ । समान खेलबाट पाँच अंक बनाएको पीएनजी अन्तिम तथा सातौं स्थानमा छ । २८ खेलबाट २९ अंक बनाएको यूएई पाँचौं स्थानमा छ ।

नेपालले हालै घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलिथ सिरिजको चारवटै खेल जितेको थियो । सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ । 

सात टोली सहभागी लिगमा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने तीन टोलीले एकदिवसीय विश्वकप खेल्न पाउनेछन् । नेपाललाई विश्वकपमा स्थान बनाउन अब ६ खेल जित्नुपर्ने बाध्यता छ ।