ट्रम्प–किम वार्ता : प्रशंसा मुनको

sanjib humagaiडा. सन्जिव हुमागाईं


शताब्दीको भेट । विश्व इतिहासमा बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली राष्ट्रपति बीचको पहिलो भेट । संसारको ध्यान यतिखेर छोटो अवधिमै तीव्र आर्थिक विकास गरेर चर्चित दक्षिणपूर्वी एसियाली मुलुक सिङ्गापुरमा छ । रसियामा फुटवलको विश्वकप हँुदैछ भने संसारकै साना देशमध्ये एक सिङ्गापुरमा विश्व राजनीतिको एउटा विशेष खेलको पहिलो र महìवपूर्ण चरणको खेल सम्पन भएको छ ।
यो लामो खेलको जित–हारको निक्र्योल भने भविष्यले मात्रै गर्ने भएको छ । उत्तर कोरियाले पूर्ण निशस्त्रीकरण तथा आणविक गतिविधि अन्त्यमा देखाउने इमानदारिता, दुई पक्षबीचको वार्ताको निरन्तरता, युद्ध अन्त्यको घोषणासम्मको प्रक्रिया र त्यसमा लाग्ने अवधिले नै त्यो सफलतालाई मूल्याङ्कन गर्नेछ । सँगसँगै अमेरिकालाई स्थायी शत्रुको रूपमा चित्रण गरेर आफ्नो आन्तरिक वैधानिकतालाई कायम र सशक्त गर्दै आएको उत्तर कोरियाले आआफ्ना झण्डा अगाडि दुई देशका राष्ट्र प्रमुखले खिचेको तस्वीरलाई कसरी व्याख्या गर्नेछ र आफ्ना जनताका अगाडि परिचय गर्नेछ भन्ने पनि अबको एउटा रोचक पक्ष हुनेछ ।
विश्व राजनीति विशेषगरी शान्तिका लागि प्रमुख र केही हदसम्म बुझ्न अप्ठ्यारा पात्र मानिएका दुई नेताहरूको शिखर वार्ताले पक्कै पनि सबैलाई आशावादी बनाएको छ । अवश्य पनि भोलिका दिन सजिलामात्रै छैनन् । यी दुई देशका राष्ट्रप्रमुख भेट्न मात्रै पनि ७० वर्ष लाग्यो । त्यो पनि तेस्रो देशमा । अमेरिकी राष्ट्रपतिसँगको पहिलो संवादको सुरुमा उत्तर कोरियाली नेताले ‘म सबै अप्ठ्यारालाई जित्दै ढिलै भए पनि यहाँसम्म आइपुगे’ भनी दिएको अभिव्यक्तिभित्र विगत, वर्तमान र भविष्य पनि लुकेको छ ।
शीतयुद्धलाई पूर्ण रूपमा अन्त्य गर्ने अवसरको रूपमा हेरिएको यस वार्ताले अन्तर्राष्ट्रिय मामिलामा बहुचर्चित भनाइ ‘राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन’ भन्ने तथ्यलाई फेरि एकपटक चर्चामा ल्याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिङ्गापुर आउँदै गर्दा आफ्ना पुराना र अर्थतन्त्रका प्रमुख साझेदार जी–७ राष्ट्र प्रमुखसँगको असमझदारीलाई सार्वजनिक रूपमा अभिव्यक्त गर्नुभएको थियो । यसले वर्तमान विश्व राजनीति सबैसँगको वार्ता र प्रतिस्पर्धामार्फत नयाँ सम्बन्ध र साझेदारीसँगै नयाँ मूल्य र मान्यतालाई स्थापित गर्ने एउटा सङ्क्रमणकालीन समयबाट गुज्रिरहेको देखाउँछ ।
महìवपूर्ण विषय के छ भने यो कूटनीतिक सङ्क्रमणकालको केन्द्रमा एसिया रहने पक्का भएको छ । अर्थतन्त्रका हिसाबले धेरै अगाडि विश्वको केन्द्रमा रहेको एसिया फेरि विस्तारै राजनीतिको पनि केन्द्र बन्दैछ । नेपालले अहिलेको परिस्थितिलाई कसरी आफ्नो हितमा प्रयोग गर्न सकिन्छ भन्ने तथ्यलाई मनन गर्दै यो शिखर वार्तालाई केही सिक्ने अवसरको रूपमा पनि लिनुपर्छ । खासगरी, पूर्वी र दक्षिण पूर्वी एसियासम्म आएको अन्तर्राष्ट्रिय चासोलाई नेपालको लामो समयसम्मको द्वन्द्वपश्चात् सङ्घीय लोकतान्त्रिक विधिको संस्थानीकरण प्रक्रियासम्म जोडेर अन्तर्राष्ट्रिय समुदायको ध्यानलाई हामीसम्म अभिवृद्धि गर्ने भन्नेतर्फ हामी सबैको ध्यान जानु अत्यावश्यक देखिन्छ ।
कोरियाली प्रायद्वीपको शान्तिमा यो चमत्कारिक परिवर्तनका प्रमुख संवाहक हुनुहुन्छ – दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन । कूटनीतिक रूपमा विश्वका शक्तिशाली देश अमेरिका, चीन, रुस र जापानको बीचमा रहेको कोरिया आफ्नो आर्थिक क्षमताको तुलनामा प्रायः कमजोर देखिन्थ्यो । विशेषगरी उत्तर कोरियाली मामिलामा उसको भूमिकाको बारेमा सधैँ प्रश्न उठ्ने गथ्र्यो । मुनले त्यो सिलसिलालाई अन्त्य मात्रै गर्नुभएन, प्रायः सबैले असम्भव देखेको ट्रम्प र किमको वार्तालाई सफल बनाउनुभयो । उहाँले अपनाएका पाँच सूत्रहरूलाई हामीले बुझ्नु आवश्यक छ ।
मुनका पछाडि कूटनीतिक नीति निर्माण गर्ने प्राज्ञहरूको टोली छ । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै आफ्नो परराष्ट्र सिद्धान्तलाई व्यवहारमा उतार्न एकै विश्वविद्यालयका, एकै विभागका परराष्ट्र मामिलाका तीन प्राध्यापकलगायत धेरै विज्ञलाई ब्लुहाउस (दक्षिण कोरियाली राष्ट्रपति निवास) को परराष्ट्र समूहमा नियुक्त गरेर उहाँले आफ्नो पार्टीका नेता, कर्मचारी र विज्ञहरूको सहकार्यमा समाधान खोज्नुभयो । राज्यका प्रमुख प्राथमिकता विषयमा अपेक्षित नतिजा हासिल गर्न विज्ञको भूमिकालाई दर्शाउने यो उदाहरणबाट हाम्रो देशले पनि पाठ सिक्नुपर्छ ।
राष्ट्र प्रमुखका निर्णय त्यतिखेर मात्रै सशक्त हुन्छन् जतिखेर राष्ट्र प्रमुखको सोचसँग जनताको सहमति रहन्छ । दक्षिण कोरियाली मिडियाका अनुसार राष्ट्रपति मुनको अहिलेको परराष्ट्र नीतिमा ८३ प्रतिशत जनताको समर्थन छ । त्यो नै राष्ट्रपति मुनको ठूलो हतियार हो । ७० प्रतिशत अमेरिकी जनताले पनि ट्रम्प र किम बीचको वार्तामा समर्थन जनाएका छन् ।
हाम्रो परराष्ट्र नीति कमजोर भयो । हामीले छिमेकीबाट पर्याप्त फाइदा लिन सकेनौँ भन्ने मात्रै होइन, देशको हितमा रहेको नीतिलाई कार्यान्वयन गर्ने तहमा प्राज्ञहरूलाई प्रयोग गर्नमा राज्यले कन्जुस्याइँ गर्नु हुँदैन । राज्यले आफ्नो एकीकृत परराष्ट्र नीति त्यतिखेर निर्माण गर्न सक्छ जतिखेर राज्य र जनताबीच त्यो नीतिको बारेमा आम सहमति जुट्छ । कोरियाली राष्ट्रपति मुनले झैँ हाम्रो नेतृत्वले पनि कुनै महìवपूर्ण विषयमा नीति कार्यान्वयन गर्नु अगाडि जनतासँगको संवादमा पनि कन्जुस्याइँ गर्नु हुँदैन । तब मात्र राज्यका गतिविधि सशक्त र प्रभावकारी हुनेछन् ।
मुनले यहाँसम्म आइपुग्न घुमाउरो कूटनीतिक फर्मुला प्रयोग गर्नुभयो । राष्ट्रपतिमा निर्वाचित भए लगत्तै उहाँले ‘परराष्ट्र नीतिमा विविधिता’ को मुद्दालाई अगाडि सार्नुभयो र आसियान लगायत दक्षिण पूर्व एसियामा रहेका शक्तिशाली देशको सम्बन्धमा जोड दिए । कोरियाली आधुनिक कला र संस्कृति चर्चित रहेको दक्षिण पूर्व एसियामा दक्षिण कोरियाको सक्रियताले ठूला देश माझ उसको कूटनीतिक उचाईलाई माथि पु¥याउने काम मात्रै गरेन, उत्तर कोरियाको मन जित्नमा समेत सहयोग ग¥यो ।
नेपाललाई पनि अहिले परराष्ट्र नीतिमा विविधिताको खाँचो छ । विश्वका उदियमान दुई ठूला छिमेकीको बीचमा मात्रै होइन, विश्व राजनीतिमा हाम्रो स्थान र हामीलाई दुनियाँले मूल्याङ्कन गर्ने परिभाषामा परिवर्तन ल्याउन हामी आफैँले मिहिनेत गर्नुपर्छ । ठूला देशलाई आफ्नो देशको हितमा निर्णय गराउन सैनिक बल विना पनि सम्भव छ भनेर दक्षिण कोरियाले प्रमाणित गरेको छ । हामीले पनि यसबाट केही सिक्नुपर्छ ।
मुनले नयाँ शक्तिशाली देशसँग जति नजिक भए पनि आफ्ना दुई गतिविधिमा भने कहिले पनि परिवर्तन आउन दिनुभएन – सार्वजनिक अभिव्यक्ति र धैर्यता । मुनले सदासर्वदा कोरियाली प्रायद्वीपमा दीर्घकालीन शान्तिका लागि उत्तर कोरिया र अमेरिकाकाबीच प्रत्यक्ष र दुई पक्षीय वार्तामा जोड दिनुभयो । उहाँले आफू पहिलोपटक उत्तर कोरियाली नेतालाई भेटिरहँदा समेत उत्तर र अमेरिकाको वार्तामा जोड दिनुभयो । फलस्वरूप उत्तरलाई शङ्काको नजरले हेर्ने अमेरिकी र जापानी नेतृत्वको विश्वाससम्म जित्न सफल हुनुभयो ।
सँगसँगै मुनले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि धैर्यता गुमाउनुभएन । एक उत्तर कोरियाली कूटनीतिज्ञको भनाइलाई लिएर उत्तर र अमेरिकाको शिखर वार्ता भङ्ग हुने अवस्थामा पुगेपछि मुन अत्यन्तै गोप्य रूपमा दुई कोरियाबीचको सिमानामा पुगी किमसँग वार्ता गरेर सिङ्गापुरमा अमेरिका र उत्तर कोरिया शिखर वार्ता हुने वातावरण बनाउनुभयो । जेठ १३ गते उहाँले किमलाई नभेटेको भए अहिले हामी अर्कै इतिहास लेख्दै हुन्थ्यौँ । त्यसैले मुन विश्व शान्तिका लागि धन्यवाद र प्रशंसाका पात्र बन्नुभएको छ ।
(हुमागाईं दक्षिण कोरियाको हाँसो विश्वविद्यालय, परराष्ट्र मामिलाका पूर्व सहायक प्राध्यापक हुनुहुन्छ ।)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना