• ८ वैशाख २०८१, शनिबार

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा

blog

सिटी स्क्यान र ब्लड बैंक सेवा शुभारम्भ गर्दै मन्त्री पन्थी । तस्वीर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, फागुन १५ गते । भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा शुभारम्भ भएको छ । दुई करोड ७४ लाख ४० हजार रुपियाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो । बिरामीलाई थप सेवा प्रदान गर्ने उद्देश्यले सिटी स्क्यान र यहाँ उपचार गर्ने बिरामीहरूका लागि सहजता र सुविधा दिने उद्देश्यले ब्लड बैङ्कको स्थापना गरिएको अस्पतालले जनाएको छ ।

सिटी स्क्यान र ब्लड बैङ्क सेवाको सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थीले उद्घाटन गर्नुभयो । सो अवसरमा मन्त्री पन्थीले भीम अस्पतालमा धेरै सुधार भएकाले अस्पतालको प्रशंसा गर्नुपर्ने बताउनुभयो । उहाँले सीमित स्रोतसाधनका बाबजुद अस्पतालले राम्रो सेवा प्रदान गरेको बताउनुभयो । 

उहाँले प्रदेश सरकारले अस्पताललाई आवश्यक जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै बजेट छुट्याएको छ । भीम अस्पताल बिरामीको पहिलो रोजाइ बनोस् ।’

उहाँले अस्पतालबाट उपलब्ध हुने सेवाका लागि बाहिर पठाउने कुरा गद्दारी गर्नुभएको थियो । उहाँले अस्पतालको सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मन्त्री पन्थीले वि.सं. १९९० मा स्थापित भीम अस्पताल इतिहास बोकेको अस्पताल भएको बताउनुभयो । उहाँले यो अस्पताल सिद्धार्थनगरका लागि गर्वको विषय भएको बताउनुभयो । 

उहाँले भन्नुभयो,  ‘दानवीर हुनु महत्त्वपूर्ण कुरा हो । जो कोही दानवीर बन्न सक्दैनन्, अस्पताललाई विभिन्न समयमा सहयोग गर्ने दानवीरलाई सम्मान गर्नुपर्छ । उहाँहरूलाई प्रदेश सरकारकोतर्फबाट सम्मान व्यक्त गर्न चाहन्छु ।’ उहाँले भीम अस्पतालको टीमले कोरोनाकालमा राम्रो काम गरेको बताउनुभयो ।

स्वास्थ्य सेवा भनेको अन्य पेसाभन्दा फरक भएकाले बिरामीलाई मुस्कानसहितको सेवा दिनुपर्ने उहाँको भनाइ छ । व्यक्तिगत र पारिवारिक तनाव अस्पतालमा आउने बिरामीसँग पोख्न नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुस्कानसहित बिरामीलाई परामर्श दिँदा धेरै रोग निको हुन्छ । यो चिकित्सक र स्वास्थ्यकर्मी तथा अस्पतालको प्रतिष्ठाको विषयसँग पनि जोडिएको हुन्छ ।’

त्यस्तै, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले भीम अस्पतालमा धेरै सुधार भएको बताउनुभयो । सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीसँग राम्रो व्यवहार गर्नुपर्ने बताउनुभयो ।

भीम अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले कोरोनाकालमा डाक्टर, नर्स, स्वास्थ्यकर्मी, कर्मचारीको टीमले आफ्नो ज्यान जोखिममा राखेर बिरामीको ज्यान बचाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैले उपचार गर्न आउने अस्पताल बनाउँछौँ ।’ उहाँले एमआरआई मेशिन नहुँदा अन्यत्र जानुपरेकाले सो मेशिनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको बताउनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ताले भीम अस्पतालको विकासमा प्रदेश सरकारको ध्यान जाने कुरामा विश्वस्त रहेको बताउनुभयो । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी), नेपालका गभर्नर नवराज न्यौपानेले लायन्सले अस्पताललाई ४० लाख बराबरको भिडियो एक्स–रे र ईसीजी मेसिन उपलब्ध गराएको बताउनुभयो ।