थानकोट–नागढुङ्गा सुरुङमार्ग : बोलपत्र आह्वानको तयारी

भउचप्रसाद यादव

काठमाडौँ, जेठ ३० गते । देशभरबाट राजधानी भित्रिने मुख्य नाकाको रूपमा रहेको थानकोट–नागढुङ्गा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा भएको छ । सडक विभाग, वैदेशिक महाशाखाका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग निर्माणका लागि नेपालतर्फको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।
“उक्त सुरुङमार्ग निर्माणका लागि हामीले सम्पूर्ण तयारी पूरा गरेर निर्माण लागत अनुमानसहितको कागजात जापानी सहयोग नियोग (जाइका) मा पठाएका छौँ, जाइकाको अन्तिम स्वीकृतिपछि सुरुङमार्ग निर्माणका लागि ग्लोबल टेण्डर (बोलपत्र) आह्वान गरिने छ” उहाँले भन्नुभयो, “हामी जाइकाको स्वीकृति पत्र कुरेर बसेका छौं, हाम्रो तर्फको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।” बोलपत्र आह्वानका लागि समेत सम्पूर्ण तयारी भइसकेको जानकारी उहाँले दिनुभयो ।
जाइकाले छिट्टै नै स्वीकृति प्रदान गर्ने विश्वास नेपाल पक्षको रहेको उहाँले बताउनुभयो । जाइकाको सहयोगमा नै सम्पूर्ण निर्माण कार्य सम्पन्न भइरहेको हुनाले अन्तिम स्वीकृति अनिवार्य रहेको उहाँले स्पष्ट पार्नुभयो । यसअघि जाइकासँग १७ अर्बको रुपियाँको ऋण सम्झौता भइसकेको छ । उक्त सुरुङमार्ग निर्माणका लागि जापान सरकारले ०.१ प्रतिशतको ब्याजदरमा ४० वर्षका लागि ऋण उपलब्ध गराएको हो । नेपाल सरकारले सो ऋण करिब ३० वर्षमा तिर्नुपर्ने छ ।
थानकोटको नागढुङ्गाबाट धादिङको सिस्नेखोला निस्कने गरी निर्माण गर्न लागिएको सुरुङमार्गको सम्भाव्यता अध्ययन पूरा भएको बताउँदै उहाँले सन् २०२१ सम्म सो सुरुङमार्गको निर्माण कार्य सम्पन्न हुने जानकारी दिनुभयो ।
प्रस्तावित सुरुङमार्गको कुल लम्बाई साढे दुई किलोमीटर र चौडाइ करिब १२ मिटर हुनेछ । थानकोटमा रहेको अहिलेको सडकखण्डबाट सुरुङमार्गको बाटो तल झर्ने र १५ सय मीटरको ‘अप्रोच’ बाटोपछि सुरुङमार्ग शुरु हुने उपमहानिर्देशक श्रेष्ठले जानकारी दिनुभयो । सुरुङमार्गको उचाइ आठ मीटर हुनेछ । surungmarg
उहाँका अनुसार, सुरुङमार्ग तीन लेनको हुनेछ । सुरुङमार्गको तीन लेनमध्ये दुई लेन राजधानी भित्रिने हुनेछ भने एक लेन राजधानीबाट बाहिरिने सवारी साधनका लागि छुट्टयाइनेछ ।
सुरुङमार्गको मर्मत सम्भारका लागि सवारी साधनबाट ‘टोल ट्याक्स’ उठाउने अवधारणा अघि सारिएको सडक विभागले जनाएको छ । सडक विभागले ‘सर्विलियन्स पद्धति’ अनुसार यो सुरुङमार्गको अनुगमन गर्नेछन् । यसका लागि सडक विभागमा एउटा अनुगमन कार्यालयको स्थापना गरिनेछ । मुलुककै पहिलो टनेल सडकको रुपमा प्रस्तावित यो सुरुङमार्गले अबको डेढ दशकसम्म हुन सक्ने सवारी चापलाई धान्न सक्ने विश्वास सरकारको छ ।
जापानी सहयोग नियोग (जाइका) को सहयोगमा जापानी परामर्शदाताले सो सुरुङमार्ग निर्माण सम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययन प्रतिवेदनले सुरुङमार्ग निर्माण सहज ढंगले गर्न सकिने सम्भावना देखाएको उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार, सो सुरुङमार्ग निर्माणको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) को काम समेत सम्पन्न भइसकेको छ । सुरुङमार्ग निर्माणसम्बन्धी प्रविधि र विद्वता नेपालमा नभएको अहिलेको अवस्थामा सो सुरुङमार्गको प्राविधिक र निर्माणपक्ष जापान सरकारले हेर्ने छ ।
अहिले त्रिपुरेश्वर–कलङ्की सडकखण्डमा दैनिक २० हजार सवारी साधन गुड्ने गर्छन भने कलङ्की–नागढुङ्गा सडकखण्डमा दैनिक आठ हजार सवारी साधन गुड्ने गर्छन् । पृथ्वी राजमार्गको सवारी चाप र जामलाई न्यून गर्न नागढुङ्गादेखि नौबिसे खानीखोलासम्मको सडक चौडा गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना