• १६ चैत २०८०, शुक्रबार

चरन क्षेत्रको अभावले मह उत्पादन घट्यो

blog

बिक्रीका लागि तयार पारिएको मह । तस्बिर : मीना कँडेल

मीना कँडेल

कावासोती, फागुन १५ गते । पूर्वी नवलपरासीमा मौरीपालन व्यवसायमा युवाहरुको सङ्ख्या बढ्दैगएको छ । तर माहुरीको चरण क्षेत्र अभावले मह उत्पादनमा ह्रास आएको छ । नेपाल मौरीपालक सङ्घ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ । उत्पादनअनुसार महले बजार नपाउँदा किसानहरु चिन्तित छन् । 

नवलपुरमा पछिल्लो समय मौरीपालन व्यवसाय फस्टाउँदै गएको भए पनि महले बजार नपाएको किसानले गुनासो गरेका छन् । थोरै लगानी र कम मिहिनेत पर्ने भएकाले यस व्यवसायमा किसानको आकर्षण बढेको छ । तर विभिन्न समस्याबाट मौरीपालक किसान गुज्रनुपरेको अवस्था छ । 

आयातित महले स्थानीय स्तरमा उत्पादित महले बजार नपाउँदा व्यवसायबाट पलायन हुनुपर्ने अवस्था आएको किसान राजेन्द्र रावलले दुःखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “केमिकल मिसाएर शुद्ध महजस्तै बास्ना आउने बनाउने, जसले गर्दा उपभोक्ताले पनि छुट्याउन नसक्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्ने बताउनुभयो ।”

जलवायु परिवर्तन, चरनक्षेत्रको अभाव, तोरी छर्ने कतिपय किसानमा जनचेतनाको अभावले गर्दा चरनमा अवरोध गर्ने, थोरै घारमौरी भएका किसानले धेरै चरनक्षेत्र ओगट्नेजस्ता समस्याले मह उत्पादनमा क्रमिक ह्रास हुँदैगएको छ भने अर्काेतर्फ उत्पादनअनुसार महले बजार नपाउँदा आफूलाई समस्या भएको देवचुलीका निर्मला पाण्डेले बताउनुभयो ।

मौरीपालनमा देखिएका सबै समस्यालाई समाधान गर्दै नीतिगत रुपमा चरिचरनको उचित व्यवस्थापन, बालीमा विविधीकरण, वास्तविक किसानमुखी अनुदान, सहुलियत, बीमा र जनचेतनाका कार्यक्रम सरकारबाट हुन सकेमा मात्रै मौरीपालन किसान लाभान्वित हुने उहाँको भनाइ छ । 

नेपाल मौरीपालक महासङ्घ नवलपुरका अनुसार अहिले वार्षिक रुपमा तीन गुना बढी मह उत्पादन हुनेगरेको छ । स्थानीय सरकारको सहयोग भएमा बजारीकरणका लागि अब समस्या नहुने नेपाल मौरीपालक महासङ्घ नवलपुरका अध्यक्ष यदुनाथ कँडेल बताउनुभयो ।  जिल्लाको देवचुली, कावासोती, गैँडाकोट र मध्यबिन्दु नगरपालिकाका करिब ९० जना किसान व्यावसायिक रुपमा मौरीपालनमा आबद्ध छन् ।