• १५ चैत २०८०, बिहिबार

वडावासीलाई कौसी खेतीका लागि बिरुवा वितरण

blog

वडावासीलाई कौसी खेतीको लागि बिरुवा वितरण गरिँदै। तस्बिर: शान्ता अधिकारी।

शान्ता अधिकारी 

चितवन, फागुन १५ गते । भरतपुर महानगरपालिकाको वडा नम्बर २ ले वडावासीलाई तरकारीको लागि आत्मनिर्भर बनाउने अभियान अन्तर्गत बिरुवा वितरण सुुरु गरेको छ । वडाभित्रका सबै घरधुरीलाई तीन तीन वटा लहरे तरकारीका बिरुवा वितरण गर्ने निर्णय गरेको वडाले सोमबारबाट यो अभियान थालेको हो । 

वडाध्यक्ष मनोज रानाभाट भन्नुहुन्छ ‘घरकै कौसीमा उत्पादित अर्गानिक तरकारीको उपभोग गरुन् भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम सुरु गरिएको हो । यो हाम्रो पहिलो परीक्षण हो ।’ 

वडाले गत वर्ष प्राङ्गारिक मल बनाउने तालिम दिएको थियो । वडा कार्यालय र स्थानीयको साझेदारीमा सहुलियत दरमा घरघरमा कुहिने फोहाेरबाट मल बनाउने रिङ् वितरण गरिएको थियो । 

परीक्षण सफल भए अर्को वर्षदेखि अझै थप बिरुवा वितरण गर्दै स्वच्छ र ताजा तरकारी उत्पादन गर्नेतर्फ वडावासीलाई अग्रसर बनाउने अभियान रहेको वडाध्यक्ष रानाभाटको लक्ष्य छ । बिरुवा वितरण पूर्व प्राविधिकबाट विरुवा रोप्ने र त्यसको मलखादको बारेमा पनि सामान्य जानकारी दिइएको थियो ।

वडा नम्बर २ भरतपुर महानगरपालिकाको क्षेत्रफलको हिसाबले सबैभन्दा सानो जनसङ्ख्याको हिसाबमा ठूलो वडा हो । यो वडामा चार हजार २६१ भन्दा बढी घरधुरी छन् भने १६ हजार २१८ जनसङ्ख्या छ । मुख्य सहरी क्षेत्रमा रहेको यस वडामा गणना गरिएको जनसङ्ख्याभन्दा दोब्बर बढी मानिस बसोवास गर्छन् ।