• ७ वैशाख २०८१, शुक्रबार

आयआर्जन बढाउन थारू भान्साघर सञ्चालन

blog

थारु समुदायका महिलाद्वारा सञ्चालनमा ल्याइएको थारु भान्सा घर । तस्बिरः छविलाल पाण्डे

छविलाल पाण्डे 

बुटवल, फागुन १५ गते । कोभिडको मारमा परेका थारु समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पहल थालेको छ । कार्यक्रमको सहयोगमा महिलालाई पर्यापर्यटनसँग जोड्दै व्यावसायिक रूपमै सबल र आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा २० जना महिलालाई आयआर्जनमा जोडिएको छ । 

कोभिडका कारण कुनै पनि आयआर्जनका कार्यक्रममा जोडिन नपाएका महिलालाई लक्षित गरी संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको आर्थिक सहयोग र सेतो गुराँस बालविकास संस्थाको प्राविधिक सहयोगमा थारु जातिको मात्रै परिकार पाइने थारु भान्सा घर सञ्चालनमा आएको छ ।  

रुपन्देही जिल्लाको सैनामैना नगरपालिका १० का थारु समुदायका २० जना महिलाको समूह गठन गरी उनीहरूले नै सञ्चालन गर्नेगरी उक्त थारु भान्छा घर सञ्चालनमा ल्याइएको हो । 

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले पछाडि परेका थारु समुदायका महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यले नयाँ प्रकृतिको भान्सा घर सञ्चालनमा ल्याउन सहयोग गरिएको बताउनुभयो । 

थारु जातिको भान्साघरबाट पर्यापर्यटनसँगै उनीहरूको थारु समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउन यो कार्यक्रम गरिएको उहाँले बताउनुभयो । महिलाहरू आफैले व्यवस्थापनगरी सञ्चालनमा ल्याएको यस प्रकारको व्यवसायले सामाजिक रूपमा समेत सकारात्मक सन्देश दिनुका साथै महिला आयआर्जन समेत जोडिन सफल भएको सेतो गुराँस बालविकास संस्थाकी अध्यक्ष सुमित्रा शर्माले बताउनुभयो ।  

‘बहुरियाके भान्सा घर’ नाममा खोलिएको थारु संस्कृति र परिकारसँग सम्बन्धित उक्त भान्साघर सञ्चालनमा आएसँगै सञ्चालकलाई भ्याइनभ्याइ छ । छुट्टै प्रकारको स्वाद र थारु समुदायको परिकारले उपभोक्तालाई आकर्षित गरेको छ । 

सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले थारु समुदायको आफ्नै पहिचान रहेको बताउँदै थारु भान्सा घरले थारु जातिको परम्परागत खानाको प्रवर्धन गर्ने दाबी गर्नुभयो । स्थानीय सालझण्डी, झिमझिमिया, विचौवापुरलगायत गाउँका २० जना थारु समुदायका महिलाले समूह निर्माण गरी थारु भान्सा सञ्चालनमा आएको छ । थारु भान्सा घरमा थारु समुदायको परिकारमात्रै पाइन्छ ।