• १५ चैत २०८०, बिहिबार

एमडीएससी स्पोर्ट्सलाई शहीद स्मारक लिगको मार्केटिङ अधिकार

blog

शहिद स्मारक लिगको मार्केटिङ अधिकार प्रदान कार्यक्रममा सहभागीहरु । तस्बिर : गोरखापत्र

काठमाडौं, फागुन १५ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ ‘बी’ र ‘सी’ डिभिजन लिग फुटबलको मार्केटिङ, ब्रोडकास्टिङ, डिजिटल र टिकेटिङको सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिलाई प्रदान गरेको छ ।

एन्फाले तीनवटै लिगको शीर्षक प्रायोजक बाहेक सम्पूर्ण अधिकार एमडीएससी स्पोर्ट्स प्रालिलाई प्रदान गरेको हो । एमडीएससी खुला टेन्डर प्रक्रियामार्फत अधिकार प्राप्त गरेको हो ।

जसका लागि एमडीएससीले एन्फालाई भ्याट बाहेक एक करोड ९७ लाख रुपियाँ प्रदान गरेको एन्फा महासचिव किरण राईले जानकारी दिनुभयो । अधिकार प्राप्तिसम्बन्धी सम्झौता पत्रमा सोमबार एन्फाका महासचिव किरण राई र एमडीएससी स्पोर्ट्सका अर्जुन घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिग यही फागुन १९ गतेबाट सुरु हुनेछ । दशरथ रङ्गशाला, एन्फा कम्प्लेक्स मैदान र च्यासलमा सञ्चालन हुने लिगका १४ क्लबको सहभागिता रहने लिगका खेलहरू डबल राउन्ड रोबिन प्रणालीका आधारमा खेलाइने छ । 

लिगमा कूल एक सय ८२ खेल हुनेछन् । उद्घाटन खेलमा ‘ए’ डिभिजनको नयाँ क्लब खुमलटार एफसी र फ्रेन्ड्सबीच प्रतिस्पर्धा हुनेछ । कूल १२ करोड रुपियाँ लगानीमा सञ्चालन हुने लिगको विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउनेछ ।

यस्तै ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोत्कृष्ट खेलाडीलाई तीन तीन लाख, उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही दुई लाख, उदयीमान् खेलाडीलाई एक लाख, प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’ लाई  १० हजार रुपियाँ प्रदान गरिने बताइएको छ । यस्तै लिगमा प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपियाँ प्रदान गरिने एन्फाले जनाएको छ ।