• ११ वैशाख २०८१, मङ्गलबार

हुम्लामा बन्न लागे आरसीसी भवन

blog

ताँजाकोट गाउँपालिकामा व्यक्तिगत लगानीमा नयाँ आरसीसी भवन निर्माण कार्य हुँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, फागुन १५ गते । दक्षिणी हुम्लामा व्यक्तिगत रुपमा लगानी गरेर पहिलो पटक आरसीसी भवन बन्न शुरु गरेका छन् । राष्ट्रिय सडक सञ्जाल जोडिएसँगै निर्माण सामग्री सहज रुपमा ढुवानी भएर आउन थालेपछि व्यक्तिहरु आरसीसी पिल्लर भएको भवन निर्माणमा लागेका हुन् ।  

ताँजाकोट गाउँपालिका –३ का नरवीर थापाले पहिलो पटक गाउँमा आरसीसी पिलर भएको पक्की भवन निर्माण सुरु गरेको बताउनुभयो । उहाँले सिमेन्ट, छड र सरिया सस्तो भएपछि आरसीसी भवन बनाउन सुरु गरेको बताउनुभयो । 

पानी चुहिने समस्याबाट मुक्ति पाउन, सुरक्षित रहन र भूकम्पबाट जोगिन समेत आरसीसी भवन निर्माण गरिएको बताउनुुभयो । उहाँले तीनकोठे दुईतले आरसीसी भवनको निर्माण सुरु गर्नुभएको छ । सो भवन पूर्णरुपमा सम्पन्न गर्न साढे बाइस लाख लगानी लाग्ने बताउनुभयो । त्यसैगरी अर्का स्थानीय छत्र मल्लले पनि नयाँ आरसीसी भवनको निर्माणको काम सुरु गर्नुभएको छ । 

ढुङ्गा माटोको कच्ची घर निर्माण गर्दा र आरसीसी भवन निर्माण गर्दा लागतमा केही फरक पर्ने भएका कारण पनि पक्की घर निर्माण गरिएको बताउनुभयो । यसरी दुर्गमका बस्तीमा पक्की घर निर्माण हुनुको मुख्य कारण गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिनु रहेको बताउनुभयो । यसरी आरसीसी भवन निर्माण गर्ने क्रम सडक सञ्जाल जोडिएका अदानचुली, चङ्खेली र सर्केगार्ड गाउँपालिकामा सुरु भएको छ ।