• १३ वैशाख २०८१, बिहिबार

एकै दिन सोह्र हजार दाँते ओखर रोपिँदै

blog

डिभिजन वन कार्यालय रुकुमपूर्वले खरिद गरेर ल्याएको दाँते ओखरका बिरुवा । तस्बिरः जयमान बुढामगर

जयमान बुढा मगर

रुकुमपूर्व, फागुन १५ गते । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एकै दिनमा सोह्र हजार दाँते ओखरका बिरुवा रोपिने भएको छ । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी र प्रदेश सांसदहरूको उपस्थितिमा बिरुवा रोपिन लागेको हो । 

डिभिजन वन कार्यालय रुकुमपूर्वको आयोजनामा भोलि मङ्गलबार एकै दिन जिल्लाको विभिन्न ठाउँमा गरी सोह्र हजार दाँते ओखर रोपिँदैछ । प्रशस्त हाडे ओखर पाइने यस जिल्लामा पछिल्लो समयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्थानीय सरकार र डिभिजन वन कार्यालयले टर्कीका दाँते ओखर कृषकलाई निःशुल्क रूपमा बिरुवा वितरण गरिरहेको छ । 

दाँते ओखरबाट कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले डिभिजन वन कार्यालयले पनि गत वर्षदेखि कृषकलाई ठूलो मात्रामा निःशुल्क दाँते ओखरका बिरुवा वितरण गर्दै आएको हो । यस वर्ष भर्खरै जुम्लाबाट ल्याइएको एक हजार सात सय ३५ दाँते ओखर लगाइसकिएको डिभिजनल वन अधिकृत जितेन्द्रसिंह खड्काले बताउनुभयो । 

माग सङ्कलनका लागि सूचना गरिएको थियो, उक्त सूचनापछि कृषकले माग गरेबमोजिम उन्नत जातको दाँते ओखरका बिरुवा कार्यालयले खरिद गरी कृषकलाई निःशुल्क वितरण भइरहेको खड्काले जानकारी दिनुभयो । एक हजार पाँच सय मिटरदेखि माथिको उचाइमा हुने टर्कीका फर्नर जातको दाँते ओखर मङ्गलबार जिल्लाका विभिन्न ठाउँमा लगाउन लागिएको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो । 

मङ्गलबार लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री चौधरी, लुम्बिनी प्रदेश सभाका सांंसद्हरू सुरुल पुन मगर, दिलकुमारी बुढा मगर र सरिता पुन मगर एवम् जिल्ला समन्वय समितिका प्रमुख, गाउँपालिकाका अध्यक्षहरूले ओखर रोप्ने कार्यक्रम छ । 

वनमन्त्री चौधरीले सदरमुकाम स्थित सिस्ने गाउँपालिका –५ रुकुमकोट, तीनै जना प्रदेश सांसदहरूले पुथाउत्तरगङ्गा गाउँपालिका –१३ पीपलटुङ, जिसस प्रमुख मेघबहादुर श्रेष्ठले भूमे गाउँपालिका –३ झुम्लाबाङ र तीन वटै गाउँपालिकाका अध्यक्षले सम्बन्धित गाउँपालिकामै ओखर रोपेर कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम रहेको डिभिजनल वन अधिकृत खड्काले बताउनुभयो  । 

वन मन्त्री, सांसद र जिसस प्रमुख तथा गाउँपालिका अध्यक्षले मङ्गलबार बिहान ८ बजे ओखर रोपेर उद्घाटन गरेपछि जिल्लास्थित विभिन्न वडाका कृषकले वन कार्यालयले दिएको निःशुल्क बिरुवा आफ्नो जग्गामा रोप्नुहुनेछ ।