उदाहरणीय प्रयास (सम्पादकीय)


नेपालको ऊर्जा खपतको दुई तिहाइभन्दा बढी हिस्सा काठ दाउरा, गोबर र कृषिजन्य उत्पादनका अवशेष जस्ता परम्परागत जैविक ऊर्जाले ओगटेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार नेपालमा रहेको ५४ लाख परिवारमध्ये ४० लाख परिवारमा अझै खाना पकाउने इन्धनका रूपमा यिनै परम्परागत ऊर्जाकै प्रयोग हुँदै आएको छ । विद्युत् ऊर्जाको खपत सबै क्षेत्रमा पुगेको छैन र खाना पकाउने काममा त बिजुलीको प्रयोग झनै कम छ । यस अवस्थामा परम्परागत तरिकाले प्रयोग हुँदै आएको ऊर्जाका स्रोतलाई आधुनिक, दिगो र स्वच्छ ऊर्जाका रूपमा विकास गर्न र वातावरण संरक्षण गर्ने उद्देश्यले ल्याइएको जैविक ऊर्जा रणनीति, २०७३ का लक्ष्य हासिल हुन चुनौतीपूर्ण छ । यो रणनीतिले सन् २०२२ सम्म आधुनिक जैविक ऊर्जा प्रविधि प्रवद्र्धन गरी घरभित्रको धुवाँमुक्त नेपाल बनाउने र २०३० सम्म ठोस इन्धन प्रयोग अन्त्य गरी सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
पश्चिम नवलपरासीको रामग्राममा स्थापना गरिएको जैविक ग्यास उद्योग उदाहरणीय बनेको छ । निजी क्षेत्रको इन्भी पावर इनर्जी एन्ड फर्टिलाइजर उद्योगले गोबर, सुली, चिनी मिलबाट उत्पादित फोहोर (प्रेस मड), मकैका डाँठ लगायत फोहोरबाट जैविक ग्यास उत्पादन गरी त्यसलाई सिलिन्डरमा भरेर बिक्री गर्न थालेको छ । कुल ३२ करोड रुपियाँको लागतमा निर्माण गरिएको यो उद्योगबाट दैनिक एक हजार पाँच सय केजी ग्यास र १२ टन जैविक मल उत्पादन हुन्छ । यस्तै, अर्काे उदाहरण स्याङ्जाको खिलुङ–कालिका एग्रो फार्मले देखाएको छ । यस्तै खालको प्लान्ट निर्माण गरेर दैनिक ८० सिलिन्डर ग्यास, ३५० किलोवाट विद्युत् र १५ टन जैविक मल उत्पादन यो उद्योगबाट हुन्छ । यसबाहेक निजी लगानी र नगरपालिकाले अरु केही उदाहरणीय परियोजना सञ्चालन गर्दैछन् । काठमाडौँ महानगरपालिकाले करिब तीन सय घरको फोहोर जम्मा गरेर टेकुमा प्लान्ट निर्माण गरी जैविक ग्यास, जैविक मल र बिजुली उत्पादन गर्ने कार्यक्रम राखेको छ । काठमाडौँ उपत्यकाबाट दैनिक नौ सय टन जति फोहोर निस्कने गरेको छ । यो फोहोर व्यवस्थापनको चुनौती भइरहेका बेला लगानी बोर्डले यो फोहोरबाट जैविक मल र ऊर्जा उत्पादन गर्ने परियोजना अगाडि बढाएको छ । सार्वजनिक निजी साझेदारी मोडेलमा अगाडि बढाइएको यो परियोजना कार्यान्वयन भए आयोजना अवधिभर एक लाख ८१ हजार टन जैविक ग्यास, दुई मेगावाट बिजुली र दुई लाख ५३ हजार टन जैविक मल उत्पादन हुने प्रारम्भिक अनुमान छ । यसबाट सरकारलाई तीन अर्ब रुपियाँ राजस्व प्राप्त हुनेछ र पाँच हजारले रोजगारी पाउने बोर्डको दाबी छ ।
जैविक ऊर्जा उत्पादन विभिन्न दृष्टिकोणबाट लाभदायक छ । यसबाट दिगो जैविक ऊर्जा उत्पादन गरी वातावरण संरक्षण, जैविक स्रोत, साधनको समुचित उपयोग, एलपी ग्यास र रासायनिक मलको परनिर्भरता कम गरी आयात प्रतिस्थापन, फोहोर व्यवस्थापन, रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ । सबभन्दा महìवपूर्ण कुरा त धुवाँका कारण पर्ने स्वास्थ्य समस्यामा कमी ल्याउन पनि जैविक ऊर्जा उत्तिकै महìवपूर्ण छ । त्यसैले जैविक र नवीकरणीय ऊर्जा उत्पादन र खपतमा प्रोत्साहन आवश्यक छ । नवलपरासी र स्याङ्जाका सफल उदाहरणले जैविक ऊर्जाको नयाँ सम्भावना उजागर गरेको छ । यसप्रति उपभोक्ताको आकर्षण पनि देखिएको छ । जैविक ऊर्जाको एउटै परियोजनाबाट स्थानीय स्तरमा रोजगारी सिर्जना, खेर जाने वस्तु बिक्री गरेर कृषकलाई अतिरिक्त आम्दानी, जैविक मलबाट कृषि उत्पादन वृद्धि, एलपी ग्यास विस्थापन, फोहोर र पेट्रोलियम पदार्थको उपयोगबाट हुने वायु प्रदूषणमा कमी जस्ता फाइदा लिन सकिने भएकाले यसलाई मुलुकभर र प्रत्येक स्थानीय तहमा विस्तार गर्नेतर्फ ध्यान जानुपर्छ । नेपालमा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना छ । घरायसी प्रयोजनका हिसाबले मात्रै नभई व्यावसायिक लाभका लागि पनि ठूला परियोजनाको स्थापनाले ऊर्जामा आत्मनिर्भर बन्न सहयोग पुग्नेछ । यसबाट गरिबी निवारण र वातावरण संरक्षणमा समेत टेवा पुग्नेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds