• १३ वैशाख २०८१, बिहिबार

मदन भण्डारी मेमोरियल कलेजको भवन उद्घाटन

blog

काठमाडौँ, फागुन   १५  गते । काठमाडौँको अनामनगरस्थित मदन भण्डारी ममोरियल कलेजको भवन आज उद्घाटन गरिएको छ । विसं २०६३ मा शिलान्यास गरी २०६६ सालमा निर्माण सम्पन्न भएको उक्त भवनको आज पूर्वमन्त्री महेन्द्रबहादुर पाण्डे र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उद्घाटन गर्नुभएको हो । भारत सरकारको अनुदानमा निर्मित तीन तलाको कलेज भवनमा ३० कोठा छन् ।  

उद्घाटन कार्यक्रममा पूर्वमन्त्री पाण्डेले नेपाल र भारतबीच सदियौँदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको उल्लेख गर्दै यस्तो सहयोग दुई देशबीचको आपसी सम्बन्ध र समझदारीको प्रतिविम्ब भएको बताउनुभयो । उहाँले नेपालका स्थानीय समुदायको सहयोगका लागि भारतका धेरै विकास परियोजना रहेको बताउँदै थप सहयोग निरन्तरताको अपेक्षा गर्नुभयो ।

यसैगरी भारतीय राजदूत श्रीवास्तवले नेपालको शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा भारत सरकारको तर्फबाट सहयोगका धेरै परियोजना रहेको जानकारी गराउँदै जनस्तरको सहयोग आदानप्रदानले द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले बर्सेनि उच्च शिक्षाका लागि भारत अध्ययनमा जाने नेपाली विद्यार्थीलाई भारत सरकारले छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी गराउनुभयो । कार्यक्रममा मदन भण्डारी फाउन्डेसनका अध्यक्ष उषाकिरण भण्डारी, जिल्ला समन्वय समितिका संयोजक सन्तोष बुढाथोकी र मदन भण्डारी कलेजका क्याम्पस प्रमुख रमेशचन्द्र पौडेलले भवन निर्माणमा भारतले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो । रासस