• १५ चैत २०८०, बिहिबार

छिम्केश्वरी पर्यटन मार्ग कालोपत्रे हुँदै

blog

छिम्केश्वरी पर्यटन मार्गको कालोपत्रेको लागि तयारी गरिँदै ।

अमरराज नहर्की

तनहुँ, फागुन १४ गते । महाभारत पर्वत शृङ्खलाको उच्च भागमा रहेको आँबुखैरेनी गाउँपालिका–५ स्थित छिम्केश्वरी पर्यटन मार्गको कालोपत्र अन्तिम चरणमा पुगेको छ ।

गण्डकी प्रदेशको ४७ करोड, सङ्घीय सरकारको समपूरक छ करोड र आँबुखैरेनी गाउँपालिकाको एक करोड गरी ५४ करोड लगानीमा मार्गको कालोपत्रेको काम अन्तिमचरणमा पुगेको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ ।

समुद्री सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल छिम्केश्वरी मन्दिर जाने सो मार्गअन्तर्गत आँबुखैरेनी बजार देखिलाब्दी सम्मको १६ किलो मिटर क्षेत्रमा कालोपत्रे गर्नको लागि पूर्वाधार निर्माण कार्य भइरहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकलाई सहज रूपमा मन्दिर दर्शन गर्न तथा आवतजावतमा सहज बनाउने उद्देश्यले कालोपत्रे काम अघि बढाइएको अध्यक्ष चुमानले जानकारी दिनुभयो । 

कालोपत्रेको ठेक्का शर्मा काष्ठमण्डप निर्माण सेवाले पाएको छ । कालोपत्रेको लागि कटिङ, टेवा पर्खाल, नाला निर्माण, ग्याबिन तारजाली राख्ने जस्ता पूर्वाधार निर्माणको भइरहेको छ । यस्तै, फागुन २० गतेबाट कालोपत्रे सुरु गर्ने र चैतभित्रै कालोपत्रे पुरा गर्ने गरी काम भइरहेको छ कम्पनीका साइड इन्चार्ज शिव रिजालले बताउनुभयो । 

यसअघि एक हजार दुई सय मिटर कालोपत्रेको काम भने पुरा भइरहेको उहाँले जानकारी दिनुभयो । दुई वर्षअघि निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि कोरोना महामारीले गर्दा काम ढिलाइ भएको गाउँपालिकाले जनाएको छ । 

छिम्केश्वरी मन्दिर धार्मिक आस्थाको केन्द्र रहनुका साथै त्यहाँबाट देखिने प्राकृतिक दृश्य हेर्न पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएको र कालोपत्रे गरेपछि सहज हुने भएकोले प्राथमिकतामा राखिएको र समयमै काम पुरा गर्न बारम्बार ताकेता गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । 

आँबुखैरेनीबाट लाब्दीसम्म १६ किमी सडकमा जिप यात्रा र त्यसपछि पदयात्रामार्फत छिम्केश्वरी पुग्न सकिन्छ । छिम्केश्वरीबाट अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमाल अवलोकन गर्न सकिन्छ ।

गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वासमा भक्तजनहरू मन्दिरमा पुग्ने गर्दछन् । सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरीलेकमै अवस्थित छन् भने साइली गोरखा कालीमाई, काइली मनकामनामा, अन्तरी इच्छाकामनामाई, जन्तरी अन्नपूर्णामाई र कान्छी अकलामाईलाई छिम्केश्वरी डाँडाबाटै दृश्यावलोकनसहित दर्शन गर्न सकिन्छ ।