• १६ चैत २०८०, शुक्रबार

विषाक्त सिनो खाँदा गिद्ध मरे

blog

जानु पाण्डे

कपिलवस्तु, फागुन १४ गते । विषाक्त सिनो खाँदा प्रकृतिका कुचीकार गिद्ध पुनः सङ्कटमा पर्न थालेका छन्। कृषकले पालेका पशुपन्छी, चौपाया तथा बाली जोगाउन एवं भुस्याहा कुकुर मार्न विषको प्रयोग गर्दा गिद्धको मृत्यु हुने गरेको हो। जनावर मार्न राखेको विषयुक्त मासु र सो मासु खाएर मरेको सिनो खाँदा देशको विभिन्न स्थानमा गिद्ध मरेको बताइएको छ। 

नेपालमा सन् २०१० देखि हालसम्म १३ जिल्लामा विषयुक्त आहाराका कारण गिद्धको मृत्यु हुने गरेको छ। तनहुँ, इलाम, सुर्खेत, सप्तरी, रुपन्देही, पाल्पा, सुनसरी, सल्यान, जाजरकोट, मुगु र कञ्चनपुरमा विषयुक्त सिनोका कारण गिद्धको मृत्यु भएको हो। यसबाट सबैभन्दा धेरै प्रभाव दाङ र नवलपरासीमा देखिएको छ। नवलपरासीमा ९१ र दाङमा ३२ गिद्धको मृत्यु भएको नेपाल पन्छी संरक्षण सङ्घ (बीसीएन)को तथ्याङ्क उल्लेख छ। 

सन् २०१० देखि हालसम्म नेपालमा २११ गिद्धले विषाक्त आहारा खाएका थिए। तीमध्ये १८९ गिद्धको मृत्यु भएको छ। २२ घाइते गिद्धको उद्धार गरिएको थियो। १४ गिद्धको उपचारपछि बासस्थानमा फर्काइएको बीसीएनले जनाएको छ। आठवटा गिद्धको उपचारका क्रममा मृत्यु भएको छ।

“नेपालमा मुख्यतः चितुवा, स्याल र जङ्गली बिरालोजस्ता सिकारी जनावरलाई मार्ने उद्देश्यले पशु मारेर विष राखी छाड्ने गरिन्छ। ती पशु खाएर सिकारी जनावरको मृत्यु हुने गरेको छ। जङ्गली जनावरबाट प्रभावित कृषकले जनावर मार्न दिएको सिनोका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको बीसीएनका प्रमुख प्रशासकीय अधिकृत इशाना थापाले बताउनुभयो। 

“खुला जमिनमा विषाक्त पशु शवलाई गिद्धले आहारा बनाउँदा एकै पटक धेरै सङ्ख्यामा मृत्यु हुने गरेको छ,” अधिकृत थापाले भन्नुभयो, “बीसीएनले विषादी सेवनका घटना बढी भएका क्षेत्रमा सचेतना कार्यक्रम सञ्चालन गर्न थालेको छ।” 

बीसीएनका कार्यक्रम अधिकृत भूपाल नेपालीका अनुसार नवलपरासी, दाङ र कञ्चनपुर जिल्लामा जनावर मार्न विषको प्रयोग हुँदा गिद्ध संरक्षणमा चुनौती थपिएको छ। अन्य जिल्लामा समेत फाट्टफुट्ट घटना देखिने गरेका छन्। 

विषाक्त सिनो खाएर अघिल्लो वर्ष पश्चिम नवलपरासीको रामग्राममा ७० गिद्ध एकै स्थानमा मृत फेला परेका थिए। गिद्धको संरक्षणका लागि विश्वभर विषयुक्त आहारा ठूलो समस्याका रूपमा देखिएको छ। नेपालमा डाइक्लोफेनिकलगायतका विषको प्रयोगमा प्रतिबन्ध लगाए पनि गिद्ध अन्जानमा अन्य विषाक्त सिनोको सम्पर्कमा आउँदा सङ्कट हुने गरेका छ। जसका कारण बर्सेनि गिद्धको मृत्यु हुने गरेको गिद्ध संरक्षणकर्ता अङ्कितविलास जोशीले बताउनुभयो।