• ७ वैशाख २०८१, शुक्रबार

राष्ट्रपति निर्वाचनपछि निरन्तर प्रधानमन्त्री प्रचण्ड : उपसभापति गुरुङ

blog

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ । फाइल तस्बिर

कठमाडौं, फागुन १३ गते। नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले राष्ट्रपति निर्वाचन पछि पनि प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को निरन्तरता हुने बताउनुभएको छ। 

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रपतिको निर्वाचनपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल नै रहनुहुने बताउनुभएको हो। प्रधानमन्त्रीमा दाहालकै निरन्तरता हुनुले सरकार अस्थिर भन्न नमिल्ने उहाँले बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘२५ गतेपछि पनि प्रचण्डजी नै प्रधानमन्त्री रहिरहनुहुन्छ। त्यसो भएपनि अस्थिर कसले भन्ने ? प्रचण्डजी नै निरन्तर प्रधानमन्त्री हो। धेरै पहिलादेखि भनेको थिँए, र अहिले पनि भनिराखेको छु, निरन्तर प्रधानमन्त्री उहाँ नै हो।’’ 

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपतिको रूपमा संविधानको रक्षा गर्ने उपयुक्त पात्र रामचन्द्र पौडेल भएको बताउनुभयो। उहाँले एमालेले सरकार नछाडेको अवस्थामा आफूहरूले सरकारमा जाने सम्बन्धमा निर्णय नगरेको बताउनुभयो। 

उहाँले भन्नुभयो "उम्मेदवारको रूपमा रामचन्द्रजी जत्तिको व्यक्ति जो धेरै सिनियर, खारिएको र प्रत्येक आन्दोलनमा उहाँको भूमिका अत्यन्त महत्त्वपूर्ण र त्यसमा पनि अहिले जुन संविधान छ, त्यसलाई रक्षा गर्ने उपयुक्त पात्रको रूपमा हामीहरूले लिएका छौँ। मलाई विश्वास छ, उहाँको जित सुनिश्चित छ।’’

त्यस्तै जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताउनु भयो। उहाँले भन्नुभयो, ‘‘अधिकतम दलको सहमति भएको। त्यसकारण सहमति नै हो यो। उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन। राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वाभाविक हो पार्टी त सरकारमा जान्छ नै।’’ 

जनता समाजवादी पार्टी, नेपालका नेता राजकिशोर यादवले रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवारको रूपमा उत्तम र सर्वश्रेष्ठ रहनुभएको बताउनु भयो। उहाँले पौडेलले संविधान र पदको दुरुपयोग नगर्ने बताउनु भयो। पौडेलले राष्ट्रपति पदको मर्यादा र गरिमालाई बढाउने नेता यादवको भनाइ छ।

उहाँले आफूहरूले उपराष्ट्रपतिको उम्मेदवार निश्कलंकित र सबैलाई स्वीकार्य हुनेगरी दिने पनि बताउनुभयो।