• ६ वैशाख २०८१, बिहिबार

मौलिक गीत लोप हुँदा चिन्ता

blog

बाबुराम शर्मा 

दोलखा, फागुन १२ गते । दोलखाको बिगु गाउँपालिका–७, बिगुका शेर्पा समुदायका महिलामा मौलिक गीत लोप हुन थालेकोमा चिन्ता र चासो बढेको छ । बजारमा निस्केका आधुनिक गीतको प्रभावमा परी शेर्पा समुदायका मौलिक गीतमा चासो देखाउन छाडेपछि गीतहरू लोप हुन थालेकोमा चिन्ता र चासो बढेको टँसीडोमा शेर्पाले बताउनुभयो । 

उहाँका अनुसार भूकम्प तथा कोरोना महामारीका कारण जात्रा, मेला, विवाह, भोजभतेरसमेत पूर्ण रूपमा बन्द हुन पुगे । यस्ता पर्व, मेला बन्द भएपछि शेर्पा गीत गाउन छोडियो । यो बेला मन बहलाउन मोबाइलमार्फत आधुनिक गीत सुन्नेको सङ्ख्या बढ्यो । बालबच्चा मात्र होइन, युवा तथा प्रौढमा पनि शेर्पा गीत गाउने तथा सुन्ने वातावरण नबन्दा शेर्पा गीतमा प्रत्यक्ष असर परेर लोप हुने खतरा बढेको देखिन्छ । 

पुरुषभन्दा महिलामा चिन्ता र चासो बढेको छ । उहाँले भन्नुभयो, “आफूले पनि बेलामा आमाबाट शेर्पा गीत सिक्ने चेष्टा गरिएन । अहिले आएर पछुतो लाग्न थालेको छ । अब अरूबाट भए पनि गीत सिकेर लोप हुनबाट जोगाउनुपर्छ भन्ने चेतना पलाएको छ ।” 

गीतसँगै शेर्पाको वेशभूषा, रहनसहन, बोलीचाली पनि लोप हुन लागेकोमा चिन्ता व्यक्त गर्दै ङाछुटी शेर्पाले भन्नुभयो, “शेर्पा गीत लोप हुनबाट बचाउन महिला मात्र होइन, पुरुष पनि लाग्नुपर्ने बेला आएको छ । गाउँका अग्रजबाट सिकेर भए पनि हाम्रो गौरवलाई बचाउनुपर्छ । गीत, वेशभूषासमेत बचाइएन भने हाम्रो अस्तित्व नै समाप्त हुन्छ । जिल्लाभित्रका र अन्यत्रका पनि गीत र सीप खोजबिन गरिनेछ ।” 

“यहाँका पाँच/छ जनामा चेतना जागेको छ,” साङ्गेडोमा शेर्पाले भन्नुभयो, “हाम्रो गीतलाई जोगाउन मेला, विवाहमा प्रस्तुत गर्नुपर्छ । बालबच्चालाई पनि सिकाउँदै जानुपर्छ । घर–आँगनको सरकारलाई घचघच्याउनु जरुरी रहेको छ । सबैको चासो यसप्रति तान्न सके मात्र हाम्रो गीत जोगाउन सकिन्छ ।” 

गीत मात्र होइन, विवाहमा गाउँदा विवाह संस्कार, मेलापर्वमा गाउँदा यसको महिमा गाइन्छ । गीतै बन्द भयो भने सबै संस्कार पनि हराउने भएकाले यसलाई जोगाउनु हाम्रो कर्तव्य भएको उहाँले बताउनुभयो ।