• ७ वैशाख २०८१, शुक्रबार

बिदामा कार्यालय खोल्नेबारे छलफल

blog

काठमाडौँ, फागुन १२ गते । सार्वजनिक बिदाको दिन अत्यावश्यक सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषद्मा छलफल भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा शनिबारबाहेकका सार्वजनिक बिदामा प्रत्यक्ष सेवाग्राहीसँग जोडिएका अत्यावश्यक तथा महत्त्वपूर्ण सरकारी कार्यालयहरू खुला राख्ने विषयमा छलफल भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो। सार्वजनिक बिदा धेरै भएको भन्दै सार्वजनिक रूपमा आलोचना हुन थालेपछि सरकारले उक्त विषयमा छलफल गरेको हो।

मन्त्री शर्माले भन्नुभयो, “बिदाको विषयमा बढी चर्चा भएको छ, बिदा धेरै भए भन्नेमा सरकारको ध्यानाकर्षण भएको छ। तत्काललाई कर्मचारीलाई केही सुविधा दिएर वा सट्टा बिदाको व्यवस्था गरेर अत्यावश्यक कार्यालयहरू खुला राख्ने सवालमा छलफल भएको छ।”   

शनिवारबाहेकका बिदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैङ्क, प्रहरी कार्यालय, यातायात, मालपोत, करलगायतका कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो। सार्वजनिक बिदाको दिन कार्यालय आउने कर्मचारीलाई थप सुविधा दिने वा अन्य व्यवस्था गरेर भए पनि सार्वजनिक बिदाको दिन सरकारी कार्यालय खोल्ने भएको छ। त्यसका लागि अत्यावश्यक कार्यालयको पहिचान गरी सूचीसमेत तयार गरिने भएको छ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का सम्झौताअनुसार काम सम्पन्न नगरी एकतर्फी काम छोडेको इटालियन कम्पनी सीएमसीसँग मुद्दा लड्नेबारे पनि छलफल भएको छ। २०७५ सालमा सीएमसीले ठेक्का अनुसार काम पूरा नगरी इटली फर्किएको थियो। २०७५ माघमा सम्झौता तोडिएको थियो। कम्पनीले नेपाल सरकारसँग झन्डै सात अर्ब रुपियाँ दाबी गर्दै मुद्दा दायर गरेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो।