• ६ चैत २०८०, मङ्गलबार

कानुन निर्माणमा सहयोग गर्न मन्त्रीको आग्रह

blog

राममणि दाहाल 

हेटौँडा, फागुन ६ गते । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले कानुन निर्माणमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । कमजोर र त्रुटिपूर्ण कानुन निर्माण हुँदा त्यसको भागिदार सञ्चारकर्मीसमेत हुने बताउँदै उहाँले कानुन निर्माणको समयमा हेर्न र त्रुटिरहित कानुन निर्माण सहयोग र सहजीकरण गर्न आग्रह गर्नुभयो । 

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरको शनिबार हेटौँडामा भएको वार्षिक साधारण सभा तथा पत्रकार सम्मान कार्यक्रममा उहाँले तथ्यपरक र निष्पक्ष समाचार लेख्न आग्रह गर्नुभयो । पछिल्लो समय सञ्चार क्षेत्र र सञ्चारकर्मी आफै समस्यामा रहेको बताउँदै उहाँले सञ्चारकर्मीको क्षमता अभिवृद्धिलगायत सवालमा प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीले हामी सबै आस र त्रासमा बाँचेका छौ भन्दै पत्रकारले सरकारका काममा हुने गल्ती कमजोरीलाई स्वतन्त्र भएर औँल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । 

प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्काले पछिल्लो समय पत्रकारिता पेसाबाट पलायन हुनेक्रम बढेको भन्दै पत्रकारिता क्षेत्रको विकासका लागि तीनै तहको सरकारको सहयोग आवश्यक भएको बताउनुभयो ।

प्रेस सेन्टर नेपाल, जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय महासचिव सन्तोष पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुनिल खड्का, बागमती प्रदेश उपाध्यक्ष सम्झना कार्की, प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, पत्रकार महासङ्घ मकवानपुरका कार्यवाहक अध्यक्ष ध्रुव अधिकारी, पत्रकार कुमार अधिकारी, रामकुमार एलन, बालकृष्ण चौलागाईँ, नवराज वाइबालगायतले पत्रकारिता पेसालाई मर्यादित बनाउने दायित्वको पत्रकारको भएको चर्चा गर्नुभएको थियो । 

कार्यक्रममा गोरखापत्रकर्मी राममणि दाहालसहित पाँच जनालाई सम्मान गरिएको थियो । सम्मानित हुने पत्रकारमा भानुभक्त आचार्य, बालकृष्ण अधिकारी, तिलक अधिकारी र भावना रिजाल रहनुभएको छ ।