• १३ वैशाख २०८१, बिहिबार

अन्तरिम आदेश दिन अस्वीकार

blog

कैलाली समाचारदाता

धनगढी, फागुन ५ गते । दिपायल उच्च अदालतले निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । बुधबार रिटमा बहसपछि अदालतले ‘मुद्दाको सुनुवाइ प्रक्रिया जारी रहेकाले तत्काललाई केही गरिरहनु परेन’ भन्ने आदेश गरेको छ । 

दिपायल उच्च अदालतका न्यायाधीश देशबहादुर सार्की र गणेश ठाकुरको संयुक्त इजलासले ‘मुद्दाको सुनुवाइ गर्दा कैलाली जिल्ला अदालतले लिखित जवाफ पेस गर्न नसकेकाले सुनुवाइको प्रक्रिया जारी रहेको’ समेत आदेशमा उल्लेख गरेको छ । 

१३ वर्षअघि कैलालीको लम्कीमा एउटा ट्याक्टर जलाएको आरोपमा प्रतिनिधि सभा सदस्य अरुणसहित तीन जनाविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । अदालतले २०७० साल वैशाख ९ गते सांसद चौधरीसहित तीन जनालाई जनही ६ महिना कैद र जलाइएको ट्याक्टरको विगोबापत आठ लाख १९ हजार ४२३ रुपियाँ भराउन आदेश गरेको थियो । कैलाली क्षेत्र नम्बर २ बाट चौधरी निर्वाचित हुनुभएको थियो । तर प्रतिनिधि सभा सदस्य अरुणसहित तीनै जनाले कैद भुक्तान गर्नुभएको थिएन । न त बिगोबापतको रकम नै तिर्नुभएको थियो । उहाँलाई गत माघ १९ गते प्रहरीले बाँकेको कोहलपुरस्थित एक रिसोर्टबाट पक्राउ गरेको थियो । पक्राउपछि कैलाली जिल्ला अदालतले उहाँलाई कारागार चलान गरेको थियो । 

प्रतिनिधि सभाका सदस्य अरुणका तर्फबाट माघ २२ गते दिपायल उच्च अदालतमा उत्प्रेषण परमादेशका लागि रिट दायर भएको थियो । रिटमा ‘कैलाली जिल्ला अदालतको फैसला त्रुटिपूर्ण रहेकाले बदरको माग’ गरिएको थियो । उच्च अदालतले माघ २९ गते रिटउपर सुनुवाइ गर्दै कैलाली जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला सरकारी वकिलको कार्यालयलाई लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । उच्च अदालतका अनुसार कैलाली जिल्ला अदालत कैलालीले जवाफ पेस गरेको छैन । कैलाली जिल्ला अदालतले १५ दिनभित्र (फागुन ११ गते) उच्च अदालतमा लिखित जवाफ पेस गरिसक्नुपर्ने छ ।

प्रतिनिधि सभाका सदस्य अरुणको तर्फबाट माघ २७ गते उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटसमेत दायर भएको थियो । अदालतमा उहाँका पक्षमा कानुन व्यवसायीद्वय गम्भीरसिंह ऐर र गजेन्द्रबहादुर केसीले बहस गर्नुभएको थियो । बुधबार अदालतमा सो मुद्दाको सुनुवाइका क्रममा प्रतिनिधि सभा सदस्य अरुणलाई बयानका लागि कैलाली जिल्ला अदालत कैलाली लगिएको थियो । उहाँले अदालतबाटै श्रव्यदृश्य प्रविधिमार्फत बयान दिनु भएको थियो । 

२०६६ भदौ ३ गते लम्कीचुहा नगरपालिका, धोबेनीखोला नजिक महादेव बजगाईंको स्वामित्वमा रहेको लु२त २११ नम्बरको ट्याक्टरमा आगजनी भएको थियो । लम्कीचुहा नगरपालिकाका निवर्तमान प्रमुख बजगाईंले अरुण, वीरबहादुर चौधरी र पर्शुराम चौधरीविरुद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दायर गर्नुभएको थियो ।