• १३ वैशाख २०८१, बिहिबार

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी

नवलपुरबाट सुरु भयाे निकुञ्ज भित्र जीप सफारी

blog

नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारीमा रमाउँदै पर्यटक ।

मीना कंडेल

कावासोती, फागुन ४ गते । नवलपुरबाट चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी सुरुभएसँगै जिल्लामा पर्यटकीय गतिविधि बढ्न थालेको छ । नवलपुर पर्यटन समितिका अध्यक्ष फंसराम महतोले गत वर्ष मध्यवर्ती सामुदायिक वनमा समेत जीप सफारी बन्द गर्ने अवस्थामा पुगेको र हाल निकुञ्जले नारायणी नदी पारी पनि सफारी खुला गर्ने अनुमति दिएपछि जिल्लामा पर्यटकीय गतिविधि बढेको बताउनुभयो ।

जिल्लाबाट जीप सफारी सुरुआत भएपछि यहाँका पर्यटन व्यवसायी उत्साही बनेका छन् । यसअघि नारायणी नदी वारी रहेका जिल्लाका मध्यवर्ती सामुदायिक वनमा पर्यटकीय गतिविधि गर्दै आएका पर्यटन व्यवसायी नवलपुरबाट निकुञ्ज क्षेत्रमा जीप सफारी सुरु भएसँगै उत्साही बनेका हुन् ।

जिप सफारी गराउँदा थप पर्यटक बढ्ने हुँदा आफूहरू उत्साही बनेको कावासोतीका पर्यटन व्यवसायी धनीराम गुरौले बताउनुभयो ।अब अमलटारीबाट गैंडाखासा, अमलटारी हुँदै देवीताल, अमलटारी हुँदै टाइगर टप्सको रुट र गोही प्रजनन् केन्द्रसम्म आउजाउ गर्न सकिनेछ ।

यस कार्यले नवलपुरका आर्थिक, पर्यटकीय गतिविधिमा वृद्धि हुने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले बताउनुभयो । शनिबार प्रजिअ लम्सालले सफारीको उद्घाटन समेत गर्नुभएको थियो । नवलपुरबाट निकुञ्जभित्र जीप सफारी सुरु हुँदा यस क्षेत्रमा विदेशी पर्यटकको आगमन समेत हुनेहुँदा यहाँको संस्कृतिको प्रचारप्रसारमा समेत मद्दत पुग्ने प्रजिअ लम्सालले बताउनुभयो ।

नवलपुर क्षेत्रबाट प्रतिदिन ५ वटा जीप निकुञ्ज प्रवेश गर्न पाउनेछन् । सबै होटल र पर्यटन व्यवसायीलाई फस्ट कम फस्ट सर्भिसका आधारमा अनुमति पाउनेछन् । एउटा जीपमा १० जना एकै पटक आउजाउ गर्न सक्छन् । हात्ती सफारी मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्रमा मात्र प्रवेशको अनुमति छ ।

चितवन राष्ट्रिय निकुञ्जले यही माघ ११ मा निर्णय गरेर सबै होटल र व्यवसायीका लागि नवलपुरको अमलटारी पोस्टबाट समेत निकुञ्ज प्रवेशको अनुमति दिएको हो । यसअघि होटल टेम्पल टाइगर र थारू भिलेजले मात्र पर्यटक लैजाने अनुमति पाएका थिए ।