जननेता मदन, जबज र चुनौती

 

Premal kumar khanalप्रेमलकुमार खनाल

 

नेकपा (एमाले)का तत्कालीन महासचिव जननेता मदनकुमार भण्डारी र कुशल संगठक जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा षड्यन्त्रपूर्ण हत्या भएको २४ वर्ष व्यतित भएको छ । एमालेले हरेक वर्षको जेठ ३ गते नेताहरूको सम्झना र सम्मानका साथ मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ ।
जननेता मदन भण्डारीको अगुवाइमा २०४९ सालमा नेकपा एमालेको पाँचौँ महाधिवेशनमा नेपाली क्रान्तिको कार्यक्रमको रूपमा जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रम प्रस्तुत भई अत्याधिक बहुमतका साथ पारित भएको थियो । विगत अढाई दशकदेखि एमालेले जबजलाई नेपाली समाजको विशिष्टतामा क्रान्ति सम्पन्न गर्ने मौलिक कार्यक्रमको रूपमा आत्मसात् गर्दै आएको छ ।
जबज नेपाली परिवेशमा नितान्त नौलो कार्यक्रम हो । राष्ट्रिय÷अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा देखापरेको उतारचढावका बीचमा नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने कार्य चुनौतीको रूपमा खडा भइरहेका बखत माक्र्सवाद–लेनिनवादलाई सिर्जनात्मक ढंगले प्रयोग गर्ने क्रममा मदन भण्डारीको अगुवाइमा जबजलाई नेपाली क्रान्तिको कार्यक्रम रूपमा प्रस्तुत गरिएको थियो ।
जबजले मूलतः समाजको रूपान्तरण र परिवर्तनका लागि शान्तिपूर्ण सङ्घर्ष र आन्दोलनको बाटोबाट अगाडि बढ्न निर्देशित गरेको छ । यसले प्रगतिशील सुधार, जनसेवा र शक्ति सञ्चय गरेर, जनताको संगठित बलबाट सामाजिक परिवर्तन गर्न सकिने मान्यतालाई अंगिकार गरेको छ ।
जबजको अढाई दशको यात्रामा मुलुकमा सामन्तवादको नेतृत्व गरेको राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको छ । शासन सत्तामा जनताको नेतृत्वकारी भूमिकासँगै जनता सार्वभौमसत्ता सम्पन्न हुने संवैधानिक मान्यतालाई आत्मसात् गरिएको छ । बहुलतामा आधारित नेपाली समाजमा धर्म निरपेक्षता अंगिकार गरिएको छ । समाजमा पछाडि परेको पारिएका जनसमुदायको पहिचान, पहुँच र प्रतिनिधित्वलाई सुनिश्चित गर्न समावेशी लोकतन्त्रलाई अंगीकार गरिएको छ । केन्द्रिकृत एवं एकात्मक ढाँचाको शासन प्रणालीलाई राज्यको पुनर्संरचनामार्फत सङ्घीय राज्य प्रणाली अवलम्बन गर्ने र आर्थिक सामाजिक क्षेत्रमा विद्यमान सामन्ती परिपाटीलाई आर्थिक सामाजिक रूपान्तरणका माध्यमबाट अन्त्य गर्दै मुलुकलाई समाजवादी दिशामा अगाडि बढाउने र समाजवादको आधार निर्माण गर्न संविधानले दिशाबोध गरेको छ । यी सबै परिवर्तन र उपलब्धिले जनताको बहुदलीय जनवादले अंगिकार गरेको पुँजीवादी जनवादी क्रान्तिको सच्चाइको पुनर्पुष्टि भएको छ ।
यसरी जबजको आलोकमा भएको युगान्तकारी परिवर्तनलाई हेर्ने, बुझ्ने र नेपाली क्रान्तिको अबको बाटो के हो भन्ने बारेमा भने सिंगो कम्युनिस्ट आन्दोलनमा बहस थालनी भएको छ । ०६२।०६३ को युगान्तकारी परिवर्तनले ६४ वर्षदेखिको सामन्तवाद विरोधी राजनीतिक आन्दोलनमा मात्रात्मक ढंगको परिवर्तन हुँदै शान्तिपूर्ण जनक्रान्तिले गुणात्मक फड्को मा¥यो र ‘नयाँ युग” ‘नयाँ राजनीतिक व्यवस्था” को आरम्भ भएको छ । ०६२।०६३ को युगान्तकारी परिवर्तनबाट प्राप्त उपलब्धिको व्याख्या र विश्लेषण गरी सही दृष्टिकोण अवलम्बन गर्न आवश्यक छ ।
जबजले सामन्तबाद र साम्राज्यबादलाई प्रधान अन्तरविरोधको रूपमा किटान गरेको सन्दर्भमा अब मुलुक सामन्तवादको अन्त्य सँगसँगै पुँजीवादी युगमा प्रवेश गरेको र अर्थ राजनीतिभित्र दलाल पुँजीवाद हावी हुँदै गएको सन्दर्भमा प्रधान अन्तरविरोधको सही किटानी गर्दै नेपाली क्रान्तिलाई अगाडि बढाउन आवश्यक छ । यस्तै नेपाली क्रान्तिको बाँकी कार्यभारहरू – आर्थिक र सामाजिक क्रान्ति सम्पन्न गर्दै समाजवादको आधारशिला निर्माण गर्न कम्युनिस्ट पार्टीको निर्माण र त्यसले अवलम्बन गर्ने कार्यशैलीका बारेमा पनि विशद ढंगले छलफल गरी सही दिशा अवलम्बन गर्न जरुरी छ ।
जनताको बहुदलीय जनवादको मर्म अनुसार पार्टीलाई अगाडि बढाउन विचारधारात्मक क्षेत्रमा देखिएका समस्याको पहिचान गरी पार्टीलाई माक्र्सवादीकरण र लेनिनवादीकरण गर्दै नयाँ ढंगको पार्टी निर्माण गर्नु एमालेका सामु चुनौती खडा भएको छ । जबजको मात्रै गीत गाउने तर जबजको मर्म अनुसार पार्टीलाई अगाडि बढाउन नसक्ने हो भने आर्थिक–सामाजिक रूपान्तरणमा एमालेले नेतृत्वकारी भूमिका निर्वाह गर्न सक्तैन । सडक, सदन र सरकारको तहबाट जनजीविका र जनसरोकारका विषयमा जनताको सहभागितामा वर्ग सङ्घर्ष केन्द्रित आन्दोलन÷सङ्घर्षलाई अगाडि बढाउन नसक्दा सर्वहारा श्रमजीवी वर्गको ठूलो पङ्क्ति पार्टी सम्पर्क, सम्बन्धबाट बाहिरिँदै जाने र पार्टीमा मध्यम वर्गका टाठाबाठा, सुकिला मानिसहरूको हालीमुहाली बढ्दै हुँदै जाँदा सर्वहारा श्रमजीवी वर्गको अग्रदूत पार्टी कसरी निर्माण हुन्छ ? प्रश्न उठिरहेको छ ।
जबजको मान्यता अनुसार पार्टीलाई लोकतन्त्रीकरण गर्ने विषयलाई आठौं राष्ट्रिय महाधिवेशनदेखि नै अगाडि बढाइएको छ तर पार्टीभित्र लोकतन्त्रीकरणको विषय गुटगत गतिविधितर्फ उन्मुख बन्दै गएको छ । पार्टीभित्र अनुशासन र स्वतन्त्रता तथा जनवाद र केन्द्रियताको सन्तुलित अभ्यास नहुँदा, उत्पन्न भएका अनुशासनहीन र अराजक गतिविधिले जबजको स्प्रिटमा गम्भीर प्रहार गरिदिएको छ । पैसा र गुण्डागर्दीका भरमा मात्र नेतृत्वले आफ्नो अस्तित्व, भूमिका देख्ने र अवसर पाउने खालको “धनवाद र डनवाद” को संस्कृति हुर्कंदै जानु कम्युनिस्ट पार्टीमा गम्भीर चुनौतीको विषय बन्दै गएको छ ।
नेकपा एमालेको पार्टीलाई माक्र्सवादीकरण र क्रान्तिकारीकरण गर्ने विषयमा विशद ढंगले छलफल गर्नुपर्दछ । सर्वहारा श्रमजीवी वर्गको अग्रदूत पार्टीको रूपमा विकास र विस्तार गर्न जनताको सहभागितामा सडक, सदन र सरकारको तहबाट वर्ग सङ्घर्षको कार्यनीतिलाई सन्तुलित ढंगले अगाडि बढाउन ध्यान दिनुपर्छ । पार्टीको लोकतन्त्रीकरणको प्रक्रियालाई अनुशासन र स्वतन्त्रता तथा जनवाद र केन्द्रियताको सन्तुलित ढंगले कडाइका साथ आत्मसात् गर्न ध्यान दिनुपर्दछ । यसका लागि पार्टीभित्र निर्णय प्रकियामा सम्बन्धित सबैको अपनत्व हुने सुनिश्चित गर्नु पर्दछ । पार्टी सरकारमा गएपछि पार्टी र सरकारबीच नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई गम्भीरतापूर्वक अनुसरण गर्नु पर्दछ । सरकारले अवलम्बन गर्ने नीति कार्यक्रममा पार्टीका नीति तथा कार्यक्रम प्रतिविम्बित हुनु पर्दछ । सरकारले गरेका कामको सिंगो पार्टी पङ्क्तिले अपनत्व ग्रहण गर्ने र पैरवी गर्ने ढंगले पार्टी र सरकारबीचको सम्बन्ध विकास गर्नु पर्दछ ।
जनताको सेवा गरेर मात्र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गरी नेतृत्व निर्माण हुने जबजको मान्यता अनुरूप पार्टीभित्र पनि योग्यता, क्षमता, संगठक, विचारक र आन्दोलनको अगुवाइ गर्न सक्षम भएको वा हुने ढंगले कार्य सम्पादनमा आधारित नेतृत्व निर्माण गर्ने विधि र पद्धतिको अवलम्बन गर्नुपर्दछ ।
जननेता मदन भण्डारीको अगुवाइमा पारित जनताको बहुदलीय जनवादको आलोकमा मुलुकमा युगान्तकारी परिवर्तन भएको छ । यस अर्थमा एमालेले अवलम्बन गरेको जबजको श्रेष्ठता साबित भएको छ । सँगसँगै विचार, संगठन र कार्यशैलीका क्षेत्रमा खडा अनेकन चुनौती चुनौतीलाई सामना गर्ने सुस्पष्ट दृष्टिकोण र कार्यक्रमका साथ राजनीतिक क्रान्तिसँगसँगै आर्थिक, सामाजिक क्रान्ति सम्पन्न गर्ने बाटो पहिल्याउनुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना