क्युबामा कनेल युग शुरु

Ram prashad Acharyaरामप्रसाद आचार्य

क्युबामा लामो समयदेखि कायम क्यास्ट्रो परिवारको शासन अन्त्य भएको छ । त्यहाँको संसद्ले राष्ट्रपति राहुल क्यास्ट्रोका नजिकका सहयोगी मिगेल डिआस कनेललाई राष्ट्रपति चयन गरेसँगै क्यास्ट्रो परिवारको शासन अन्त्य भएको हो ।
राहुल क्यास्ट्रोले आफ्ना बिरामी दाइ फिडेल क्यास्ट्रोबाट सन् २००८ मा सत्ताको जिम्मेवारी पाउनुभएको थियो । अमेरिकाको ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमनसँगै तत्कालीन राष्ट्रपति बाराक ओबामाको कार्यकालदेखि अमेरिका–क्युबा सम्बन्धमा आएको सुधारमा अहिले अवरोध उत्पन्न भएको छ । यसो त कम्युनिस्ट शासन रहेको क्युबामा सत्ताबाट बाहिरिसकेपछि पनि राहुल क्यास्ट्रो शक्तिशाली बनिरहने अपेक्षा गरिएको छ । सन् २०२१ मा पार्टीको अर्को महाधिवेशन नहुञ्जेल क्यास्ट्रो नै सत्तारुढ कम्युनिस्ट पार्टीको प्रमुख पदमा रहनुहुनेछ । नयाँ राष्ट्रपतिले मुलुकको अर्थतन्त्रलाई नयाँ गति दिनुका साथै युवापुस्ताको परिवर्तनको चाहनालाई आत्मसात् गर्नुपर्ने छ । कनेलको आगमनसँगै क्युबामाथि लागेको पारिवारिकतन्त्रको आरोप अन्त्य भएको छ ।
सन् २०१३ मा क्युबाको उपराष्ट्रपतिमा नियुक्त हँुदा तुलनात्मक रूपमा कनेल खासै चर्चित व्यक्तित्व हुनुहुन्थेन तर त्यसपछि उहाँ राष्ट्रपति क्यास्ट्रोको नजिकको सहयोगी बन्नुभयो । विगत पाँच वर्षयता कनेललाई भावी राष्ट्रपति पद र सत्ता सम्हाल्नका लागि तयार पारिएको थियो । ५७ वर्षीय कनेलसँग लामो राजनीतिक अनुभव छ । फिडेल क्यास्ट्रोले पहिलोपटक प्रधानमन्त्रीका रूपमा शपथ लिनुभन्दा केही समयअघि सन् १९६० को अप्रिलमा जन्मनुभएका कनेलले २० वर्षको उमेरमा योङ कम्युनिस्ट लिगको सदस्यका रूपमा राजनीति शुरु गर्नुभयो । त्यसपछि कम्युनिस्ट पार्टीको विभिन्न तहमा बसेर राजनीति गर्नुभयो । उहाँ इलेक्ट्रिकल इन्जिनियर हुनुहुन्छ । राहुल क्यास्ट्रोले कनेलको सिद्धान्तप्रतिको निष्ठाको खुलेर प्रशंसा गर्नुभएको छ ।
विदेशी शक्तिसामु कहिल्यै नझुकी मुलुकको स्वतन्त्रता, स्वाभिमान, न्याय र समानताका लागि जीवनभर सङ्घर्ष गरेका क्रान्तिकारी कम्युनिस्ट नेता फिडेल क्यास्ट्रोको निधन सँगसँगै क्युबामा एउटा क्रान्तिकारी युगको अन्त्य भयो भने राहुलपछि अहिले पारिवारिक शासन युगको अन्त्य । फिडेलको सन् २०१६ नोभेम्बर २६ मा ९० वर्षको उमेरमा निधन भयो । विश्वमै लामो समयसम्म सत्ता चलाउनेमध्येका एक नेता क्यास्ट्रो करिब आधा शताब्दी क्युबाको नेतृत्व (प्रधानमन्त्री र राष्ट्रपति) गरी शोषित, पीडित श्रमिक जनतालाई सामाजिक र आर्थिक न्याय दिलाउँदै मुलुकलाई स्वतन्त्र बनाइराक्न सफल हुनुभयो । सशस्त्र विद्रोहमार्फत मुलुकका तत्कालीन तानाशाही शासक वाटिस्टालाई सत्ताच्युत गरी कम्युनिस्ट सत्ता स्थापना गर्नुभएका उहाँ विश्व कम्युनिस्ट आन्दोलनका लागि प्रेरणाको स्रोत बन्नुभयो ।
सन् १९२६ मा दक्षिणपूर्वी ओरियन्ट प्रान्तको एउटा समृद्ध र सम्पन्न कुलीन जमिनदार परिवारमा जन्मेर पनि बहुसङ्ख्यक जनताको विपन्नता देखेर आफ्नो वैभवशाली जीवनशैली त्याग गरी श्रमिक जनताको हक, हित र अधिकारका लागि सशस्त्र विद्रोहमा होमिनुभएका क्यास्ट्रोले वाटिस्टालाई सत्ताच्युत गरेको र कम्युनिस्ट सत्ता स्थापना गरेर रातो झण्डा फर्फराएको विश्व पुँजीवादको प्रतीक छिमेकी अमेरिकालाई पटक्कै मन परेन । आफ्ना हितैषीलाई सत्ताच्युत गरेको विरोधमा अमेरिकाले क्युबामाथि कडा आर्थिक नाकाबन्दी लगाउँदै कूटनीतिक सम्बन्ध विच्छेद ग¥यो । अमेरिकाका कट्टर विरोधी क्यास्ट्रोलाई पदबाट हटाउन वा मार्न धेरै प्रयास गरिए पनि सफलता मिलेन । उहाँलाई मार्न ६०० भन्दा बढी षड्यन्त्र भएको क्युबाको गुप्तचर संस्थाले दाबी गर्दै आएको छ । क्यास्ट्रोलाई हटाउन खोज्दाखोज्दै उहाँकै शासनकालमा अमेरिकामा १० वटा राष्ट्रपति फेरिए । बुढ्यौली तथा क्यान्सरले स्वास्थ्य कमजोर भएपछि सन् २००८ मा भाइ राहुल क्यास्ट्रोलाई पद हस्तान्तरण गर्नुभएका फिडेल कहिल्यै पनि अमेरिकासित झुक्नुभएन । अन्त्यमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले आर्थिक नाकाबन्दी खुकुलो बनाई कूटनीतिक सम्बन्ध पुनःस्थापना गर्दै क्युबाको पहिलोपटक भ्रमण गरी सम्बन्ध सुधारको प्रयास गर्नुभयो । उहाँको यो सकारात्मक प्रयास अहिलेका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने पटक्कै मन परेन । क्यास्ट्रोको निधनमा विश्वका अधिकांश नेताले उहाँको सङ्घर्षपूर्ण जीवनको प्रशंसा गरिरहँदा र उहाँप्रति सम्मान प्रकट गरिरहँदा ट्रम्पले भने उहाँलाई बर्बर तानाशाहको संज्ञा दिनुभयो । पछिल्ला समय सुधार उन्मुख भएको क्युबा–अमेरिकाबीचको सम्बन्ध सामान्यीकरणतर्फ नजाने सङ्केत हो यो ।
स्कुले जीवनमा सामन्य विद्यार्थी क्यास्ट्रो क्याम्पसमा कानुनको अध्ययन सकेर कानुन व्यवसायी बने पनि प्रगति नभएपछि कम्युनिस्ट राजनीतिमा सक्रिय हुनुभयो । देशमा वाटिस्टाविरुद्ध आन्दोलन शुरु भयो । बाटिस्टाको तानाशाही सत्ताले बहुसङ्ख्यक क्युबालीलाई हरिकङ्गाल बनाएको थियो । अन्याय, अत्याचार, दुराचारले सीमा नाघेको थियो । देश जनताको यो दयनीय अवस्थाबाट चिन्तित उहाँले ८२ जना युवा साथीसँग मिलेर सन् १९५३ मा एउटा सैनिक ब्यारेकमाथि आक्रमण गरी सरकारविरुद्ध विद्रोह शुरु गर्नुभयो । सो प्रयास विफल भयो, उहाँ पक्राउ पर्नुभयो । उहाँलाई १५ वर्ष जेल सजाय सुनाइयो तर १९ महिनापछि आममाफीअन्तर्गत रिहा हुनुभयो । त्यसपछि चे ग्वेभारासँग मिलेर उहाँकै नेतृत्वमा सन् १९५६ देखि छापामार युद्ध शुरु भयो । सन् १९५९ जनवरी २ मा उहाँको छापामार विद्रोही सेनाले राजधानी हवाना कब्जा गरेपछि वाटिस्टा सरकारको अन्त्य भयो । बाटिस्टा अमेरिका भागेपछि क्यास्ट्रोले आफ्नो नेतृत्वमा कम्युनिस्ट सरकार स्थापना गर्नुभयो । उहाँ प्रधानमन्त्री बन्नुभयो ।
क्युबामा कम्युनिस्ट सत्ता स्थापना भएकोमा रुष्ट बनेको अमेरिकाले बाटिस्टा समर्थकहरूको सहयोगमा प्रतिक्रान्तिका लागि प्रयास ग¥यो तर सफल भएन । क्यास्ट्रोमाथि अमेरिकाले बारम्बार कटु आलोचना गर्दै चरम शत्रुतापूर्ण व्यवहार गर्दै आयोे । उहाँको शासनकालमा कहिल्यै पनि अमेरिकासित सम्बन्ध सुधार भएन, वाक्युद्धकै अवस्थामा रह्यो ।
अमेरिकासित सम्बन्ध बिग्रिएपछि क्यास्ट्रो सरकारलाई तत्कालीन सोभियत रुसले भरपूर सहयोग र समर्थन ग¥यो । रुसले आणविक युद्धक विमानसमेत क्युबामा पठायो । त्यसको अमेरिकी सरकारले कडा विरोध ग¥यो । दुवै मुलुकबीच शीतयुद्धका साथै आणविक युद्ध हुनु खतरा बढ्यो । अनि अन्त्यमा रुसले आणविक युद्धक विमान फिर्ता गरेपछि सम्भावित युद्धको खतरा ट¥यो ।
सन् १९७६ मा क्युबाको संसद्ले क्यास्ट्रोलाई राष्ट्रपति निर्वाचित ग¥यो । त्यसपछि उहाँ सन् २००८ सम्म राष्ट्रपति बनी क्युबाको मुहार फेर्नुभयो । रुससँग निकट सम्बन्ध राख्नुभएका क्यास्ट्रोले असंलग्न आन्दोलनमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्नुभयो । विश्व पुँजीवादी सत्ताविरुद्ध सधैँ जुध्नुभयो, कहिल्यै झुक्नुभएन ।
सोभियत सङ्घको सहयोगको भरमा टिकेको आरोप लगाइएको क्यास्ट्रोका सत्ता सोभियत सङ्घको विघटनसँगै पतन हुने दाबी गर्दै आएको विश्वको पुँजीवादी नेतृत्व क्युबामा कम्युनिस्ट सत्ताले निरन्तरता पाएकोमा छक्क परेको छ । धेरैपटक प्रयास गर्दा पनि त्यहाँको सत्ता परिवर्तन गराउन छिमेकी अमेरिकाले सकेन । यसको मूल कारण भनेकै क्यास्ट्रोले लागू गर्नुभएको क्युबा सुहाउँदो प्रगतिशील सामाजिक–आर्थिक कार्यक्रमको सफलता नै हो । बहुसङ्ख्यक जनताका माझ सो कार्यक्रम लोकप्रिय बनेको छ ।
नारामा होइन व्यवहारमै क्युबामा आमजनताका लागि स्वास्थ्य र शिक्षा आज पनि निःशुल्क छ । त्यहाँको स्वास्थ्य कार्यक्रम विश्वकै लागि नमुना बनेको छ । त्यहाँ अत्यन्तै ठूलो समस्याका रूपमा रहेको बालमृत्युदर र मातृमृत्युदर नाटकीय ढङ्गले घटेको छ । स्वास्थ्य उपचार खर्च र पढाइ खर्चबारे कुनै चिन्ता लिन नपरेकै कारण क्युबाली समाज तुलनात्मक रूपमा शान्त र तनावमुक्त बन्दै छ ।
क्युबा नेपालभन्दा पनि सानो मुलुक हो । मुख्य भाषा स्पेनिस, मुख्य धर्म इसाई रहेको यो मुलुकका बासिन्दाको अहिले प्रतिव्यक्ति आय १२ हजार १९५ डलर, औसत आयु पुरुषको ७७ वर्ष र महिलाको ८१ वर्ष पुगेको छ । अमेरिकाको आधा शताब्दीभन्दा लामो कडा आर्थिक नाकाबन्दीकाबीच पनि क्युबाले विभिन्न उतारचढाव पार गर्दै आफ्नै ढङ्गको अर्थतन्त्र विकास गरेको छ । क्युबाले निकल, चिनी, सुर्ती, माछा, औषधि, कफी आदि निर्यात गर्छ ।
कुनै पनि शासन व्यवस्थाको अभीष्ट जनतालाई सुख, शान्ति र सन्तुष्टि दिँदै मुलुकको स्वतन्त्रता, अखण्डता र एकतालाई बचाइराख्नु हो । जुन शासनसत्ताले यसलाई निरन्तरता दिन सक्छ, उही शासन राम्रो हुन्छ । अहिलेको परिवर्तित सन्दर्भमा जनताको आवश्यकता र चाहनालाई आत्मसात् गर्दै क्युबाको वर्तमान नयाँ नेतृत्वले सकारात्मक र रचनात्मक काम गर्न सक्यो र जनताको आवाजको सम्मान गर्न सक्यो भने क्यास्ट्रोले परिकल्पना गर्नुभएको स्वतन्त्र, स्वाभिमान, निडर, समृद्ध र शान्त क्युबा बनाउने सपना साकार हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना