• १५ चैत २०८०, बिहिबार

युक्रेनको शान्तिका लागि चीन र फ्रान्स समन्वय गर्न सहमत

blog

पेरिस, फागुन ४ गते । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र चीनका उच्च कूटनीतिज्ञ वाङ यीबीच युक्रेनमा ‘शान्तिस्थापनाका लागि’ योगदान गर्न सहमति भएको फ्रान्सका राष्ट्रपतिकोको कार्यालयले बिहीबार जनाएको छ ।

मस्कोको महत्त्वपूर्ण सहयोगी रहेको र करिब एक वर्षअघि युक्रेनमाथि भएको आक्रमणको निन्दा नगरेको बेइजिङले रुसलाई वार्ताको टेबलमा फर्कन दबाब दिनेछ भन्ने विश्वास आफूलाई रहेको म्याक्रोले बताउनुभएको छ ।

बुधबार पेरिसमा म्याक्रोँ र वाङले युद्ध र यसले अति जोखिममा रहेका मुलुकहरूमा पार्ने विशेषगरी खाद्य सुरक्षा र वित्तीय क्षमताका बारेमा असरबारेमा छलफल गर्नुभएको थियो ।

उहाँहरूले ‘अन्तर्राष्ट्रिय कानुनअनुसार शान्तिका लागि योगदान गर्ने एउटै उद्देश्य’ व्यक्त गर्नुभएको एलिसी प्यालेसले जनाएको छ ।

फ्रान्स भ्रमणपछि वाङले शुक्रबारदेखि आइतबारसम्म हुने म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै आफ्नो भ्रमणलाई निरन्तरता दिनुहुनेछ । उहाँले मस्कोको पनि भ्रमण गर्नुहुनेछ ।

फ्रान्सेली राष्ट्रपतिले जलवायु सङ्कटलगायत ‘विश्वव्यापी चुनौती’को सामना गर्न चीनसँग सहकार्य गर्ने बताउनुभएको छ ।

वाङले बुधबार फ्रान्सकी विदेशमन्त्री क्याथरिन कोलोनासँग भेटवार्ता गर्नुभएको थियो भने बिहीबार उहाँले म्याक्रोका कूटनीतिक सल्लाहकार इमानुएल बोनसँग रणनीतिक विषयमा छलफल गर्नुहुनेछ । रासस/एएफपी